
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा महत्वपूर्ण फड्को मार्दै आफ्नै कार्यालयबाट कर सेवा प्रवाह सुरु गरेको छ। यससँगै सैनामैना, रुपन्देही जिल्लामै कर सेवा दिने पहिलो नगरपालिका बनेको छ भने लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा उभिएको छ।
आन्तरिक राजश्व कार्यालयसँगको समन्वयमा सुरु गरिएको यस सेवाबाट अब नागरिकले करसम्बन्धी कामका लागि बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। सोमबारदेखि औपचारिक रूपमा सुरु भएको सेवाले समय, खर्च र श्रम बचत गर्दै स्थानीय स्तरमै सहज सेवा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका राजश्व शाखा प्रमुख सुजन भण्डारीका अनुसार, अब प्यान दर्ता लगायतका करसम्बन्धी सेवा नगरबाटै उपलब्ध हुनेछन्। सेवा सुरु भएसँगै सैनामैना प्रेस क्लबले दर्ता प्रमाणपत्रका आधारमा प्यान कार्ड प्राप्त गरेको छ भने व्यक्तिगततर्फ मानव पौडेल पहिलो लाभग्राही बनेका छन्।
नेपाल सरकारको अधिकार प्रत्यायोजनको व्यवस्था अनुसार स्थानीय तहमा कर सेवा विस्तार गरिए पनि रुपन्देहीका अन्य पालिकाले भने अझै यस्तो सेवा सुरु गर्न सकेका छैनन्। यस सन्दर्भमा सैनामैना अग्रस्थानमा देखिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले नागरिकलाई सहज सेवा प्रदान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै करसम्बन्धी झन्झट हटाउने दिशामा यो कदम महत्वपूर्ण रहेको बताए। उनले कार्यसम्पादन मूल्यांकनमा समेत सैनामैना अगाडि रहेको उल्लेख गर्दै जनताका स–साना काम समाधान गर्न सके स्थानीय सरकारप्रति विश्वास बढ्ने धारणा राखे।
उपमेयर विना रानाले गाउँमै सेवा पुगेपछि नागरिकमा खुशी छाउने बताउँदै नगरले थालेको प्रयासबाट सम्पूर्ण नगरबासी लाभान्वित हुने विश्वास व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहमा नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै अब करसम्बन्धी कामका लागि नगरमै आउन सकिने जानकारी दिए।
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख हरि बस्यालले कर सेवा सरल र सुलभ बनाउन सैनामैनाले गरेको पहल सकारात्मक रहेको बताए। उनले जटिल करसम्बन्धी विषयमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन कार्यालय तयार रहेको स्पष्ट पारे।
यसैबीच, सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपानेले नगरपालिकाबाटै प्यान कार्ड प्राप्त गर्दै यो कदम प्रशंसनीय भएको बताए। उनले करसम्बन्धी कामका लागि बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै स्थानीय सरकार र सञ्चार क्षेत्रको सहकार्यले नागरिकमा अपनत्व र विश्वास बढाउने विश्वास व्यक्त गरे।
सैनामैना नगरपालिकाबाट सुरु भएको कर सेवा प्रवाहले स्थानीय शासनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।












