सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार : उत्पादन, पर्यटन र पूर्वधार” भन्ने नारासहितको १४५ बुँदे नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकताकासाथ उल्लेख गरिएको छ ।
कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कृषियन्त्र तथा उपकरण वितरण गरिने तथा ५० प्रतिशत अनुदानमा उन्नत जातका फलफूलका विरुवा वितरण गरिनेछ । माटो सुधारको लागि ७५ प्रतिशत अनुदानमा मुङ्ग र ढैचाको वीउ वितरण गरिने उल्लेख छ । फलफूल र तरकारी वालीको नर्सरी स्थापना गर्ने कृषकहरुलाई प्लास्टिक टनेल र गुमोज बनाउनको लागि ७५ प्रतिशत अनुदानको कार्यक्रम संचालन गरिने तथा धान खेतीप्रति कृषकहरुको उत्साहजनक सहभागिताको लागि धान दिवस कार्यक्रम संचालन गरिने उल्लेख छ ।
सैनामैना नगरपालिका वडा नं. ३ मा निर्माण सम्पन्न भएको शित भण्डार सन्चालन गर्न आवश्यक व्यवस्था मिलाईने छ । निर्वाहमुखी कृषि पेशालाई व्यवसायिक कृषि उत्पादनतर्फ रुपान्तरण गर्नका लागि विउ उत्पादक कृषकहरुलाई विउ, मल, कृषिऔजार र यन्त्र उपकरणमा अनुदान दिने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै परिचयपत्रको आधारमा मलखादलगायत कृषिअनुदानउपलब्ध गराउने व्यवस्था गरिनेछ ।संघीय सरकारको साझेदारीमा आलु पकेट क्षेत्र कार्यक्रम सन्चालन गरिने पनि उल्लेख छ ।
सैनामैना नगरपालिकालाई कृषि पर्यटन हवको रुपमा विकास गरिने उल्लेख गरिएको छ भने फलफूल वगैचा विकास गर्न नदीउकास, सार्वजनिक क्षेत्र र निजीजग्गा लगायत संघ संस्थाका जग्गाहरुमा समेत फलफूलका विरुवा लगाउन कृषि व्यवसायी, आम नागरिक तथा सरोकारवालाहरुलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । व्यवसायिक किसानहरु सँगको साझेदारीमा भैसी प्रबर्धन कार्यक्रम संचालन गरिने छ भने संघीय तथाप्रदेश सरकारको समन्वयमा पशु बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सामुदायिक आयोजनामा सैनामैना नगरपालिकाको लागत साझेदारी कार्यक्रम गरिने उल्लेख छ । बेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन तथा विश्लेषण गरी रोजगार सुचना व्यवस्थापन प्रणालीमा बेरोजगारको सूची अद्यावधिक र व्यवस्थित गरिने नीतिमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको लागि श्रम स्वीकृत र पुनःश्रम स्वीकृतिको सहजिकरणको लागि प्रभावकारी तरिकाले कार्यान्वयन गरिनेछ र आवश्यक सहयोग पनि गरिनेछ ।
सैनामैना वडा नं ४ मा निर्माण सम्पन्न भएको १५ शैय्याको नगर अस्पताललाई संघीय सरकार, प्रदेश सरकार र सैनामैना नगरपालिकाको समन्वयमा संचालन गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
घरमा हुने सुत्केरीलाई शुन्य अवस्थामा ल्याउनका लागि पर्रोहा स्वास्थ्य चौकीमा रहेको २४ घण्टे बर्थिंग सेन्टरलाई व्यवस्थित बनाउदै लगिने उल्लेख गरिएको छ भने दुधराक्ष स्वास्थ्य चौकी र सालझन्डी स्वास्थ्य चौकीमा बर्थिंग सेन्टर संचालनको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
“कोख देखि शोक सम्म नगर सरकार“ भन्ने नीतिलाई अवलम्वन गर्दै स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन गर्न तथा सुत्केरी र नवजात शिशु स्वास्थ्य, पोषण र सरसफाई प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिक,अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, अति गरिव तथा विपन्न नागरिकहरुलाई रुपन्देही जिल्लाभित्रका स्वास्थ्य संस्थामा जानको लागि निःशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिएको छ ।
सैनामैना ११ वनकट्टीमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्यलाई अगाडि बढाउन संघीय सरकारसँग विशेष पहल गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा नेपाल सरकारले तोकेका मृगौला, क्यान्सर, मुटुरोग लगायतका घातक रोगहरुको सहज उपचारका लागि आवश्यक सहयोगको व्यवस्था मिलाइने उल्लेख छ । प्रारम्भिक बालबिकासदेखि कक्षा ५ सम्मका सबै बालबालिकालाई विद्यालयमा तयार गरिएको स्वास्थ्यवर्धक दिवाखाजा खाने व्यवस्थालाई थप व्यवस्थित तथा प्रभावकारी बनाईने उल्लेख गरिएको छ । त्यसैगरी विद्यार्थीहरुलाई किताबी ज्ञानको अलावा अन्य व्यवहारिक ज्ञान दिलाउन क्रेडिट आवरमा फरक नपर्ने गरी प्रत्येक शुक्रबारको दिनलाई बुक फ्रि डे घोषणा गरी विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सिकाई चौतारी कार्यक्रममार्फत प्रोत्साहन गरिने उल्लेख छ ।
नगर भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरस्तरमा विद्यालय गुणस्तर मापदण्ड बनाई लागु गरिनेछ भने नगरभित्रको शैक्षिक विकासकालागि नगर शिक्षा योजना निर्माण गरी लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आधारभूततहको स्थानीय पाठ्यक्रम निर्माण गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा अनिवार्य रुपमा लागु गरिने उल्लेख छ । नगरमा पछाडि परेका समुदायका छोरीहरुको उत्थानको लागि छोरी शिक्षा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी बीच कार्यसम्पादन करार गरिने उल्लेख छ । सैनामैना नगरपालिकामा सञ्चालित संस्थागत विद्यालयहरुले लगाई आएको शूल्कलाई एकरुपता कायम गर्न मापदण्डको आधारमा विद्यालयहरुको वर्गिकरण गरी प्रचलित कानून बमोजिम शूल्क निर्धारण गर्ने व्यवस्था मिलाइने उल्लेख छ । विधवा तथा एकल महिला, द्धन्द्धपीडित तथा हिंसापीडित महिला, बेरोजगार तथा अति पिछडिएका व्यक्ति र विपन्न समुदायका महिलालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
महिलाहरुलाई उद्यम र सीपको माध्यमबाट सशक्तिकरण गरी उद्यमी बनाई रोजगारी तथा स्वरोजगार सृजना गरी गरिवी निवारणमा सहयोग पुर्याउन सञ्चालित महिला संग उप प्रमुख कार्यक्रमलाई थप प्रभावकारी गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । सडक पूर्वाधारलाई गुणस्तरीय र सुरक्षित बनाइ ग्रामिण आदिवासी समुदाय, प्रशासनिक, पर्यटकीय र आर्थिक केन्द्रलाई सडक सञ्जालले जोडिने उल्लेख छ । नगर भित्रका मुख्य सडकहरु मुर्गिया–लुम्बिनी सडक, कलौनी– लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी–ढोरपाटन सडक, रानिवगिया–वोलवम सडकजस्ता ठूला तथा महत्वपुर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्ने उल्लेख गरिएको छ । संघ प्रदेश र नगरपालिकाको सहकार्यमा वाड नं २ को बोलबमपार्क, वडा नं ६ को मलमलापार्कलाई हिलस्टेसन बनाइ पर्यटकीय गन्तव्यको रुपमाबिकास गरिने उल्लेख छ ।
त्यसैगरी एसियाली विकास बैंकको सहयोगमा संघीय सरकारको अनुदान, नगर बिकास कोषको ऋण सहयोग र नगरपालिकाको साझेदारीमा नगरको गौरव योजनाको रुपमा रहेको सैनामैना चक्रपथको सालझण्डी सडकखण्ड निर्माणको लागि लागत अनुमान तथा वोलपत्र सम्बन्धी कागजात स्वीकृत भई सकेकोले वोलपत्र आव्हान गरी निर्माण कार्यको शुरुवात गरिनेछ भने सैनामैना चक्रपथको वडा नं १ र २ को बाँकी खण्ड तत्कालनिर्माण कार्य सम्पन्न गर्न संघीय सरकार सँग विशेष पहल गरिने उल्लेख छ ।
उज्यालो शहरः सैनामैनावासीको रहर भन्ने अवधारणा अनुरुप नगरपालिका अन्तरगतका मुख्य तथा सहायक मार्गहरुमा नेपाल विधुत प्राधिकरण संगको सहलगानीमा रातको समयमा आवतजावतमा सहजता ल्याउन, अप्रिय घटना नियन्त्रण गर्न र शहरी सौन्दर्यता समेत अभिवृद्धि गर्न स्मार्ट सडक वत्ती जडान गरिने उल्लेख छ । स्वस्थ नागरिक, स्वस्थ नगर भन्ने नीतिलाई अंगिकार गरी एक वडा एकखुला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ । सैनामैना क्षेत्रलाई बुद्ध सर्किट मार्फत लुम्बिनी बिकास कोषसंग जोड्न आवश्यक पहल गरिने उल्लेख छ छ । आदिवासीथारु सामुदायको पहिचान, सँस्कृती र सँस्कारलाई समेत असर नपर्ने गरी थारु गाउँमा रहेका सडकको दायाँवायाँ नाली र सडक बत्ती सहित टायल विछ्याउने कार्य मार्फत वातावरणमैत्री उज्यालो नमूना गाउँकार्यक्रमलाई निरन्तरता दिई थप क्षेत्रमा समेत विस्तार गरिने उल्लेख छ ।
प्रदेश सरकारको सहयोगमा वडा नं.९ मा निर्माण भईरहेको यात्रु प्रतिक्षालय, चार्जिङ्ग स्टेशन सहितको रिफ्रेस सेन्टरलाई सिघ्र सञ्चालनमा ल्याउन विशेष पहल गरिने कार्यक्रममा छ । त्यसैगरी संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा निर्माणाधिन औधोगिक ग्राम, गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मुर्गियास्थित राष्ट्रिय फुटवल रङ्गशाला, वोलवम क्षेत्र विकास परियोजना, वडा कार्यालय र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनजस्ता वहुवर्षिय योजनाहरुको निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ । त्यसैगरी नगरपालिकाका गतिविधिहरु नागरिकसम्म पु¥याउन स्थानीय रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ ।
८० वर्ष माथिका जेष्ठ नागरीक र अशक्त व्यक्तिहरुलाई घरमै भत्ता वितरण गर्न सेवाप्रदायक बैंकसँग समन्वय गरिने उल्लेख छ । नगरपालिकाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न तथा सडक दुर्घटना न्युनीकरण गर्न मुख्य चोकहरुमा सि।सि। क्यामरा जडान गर्ने कार्यको सुरुवात गरिने उल्लेख छ । निति तथा कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सैनाामैना १ देखि ११ वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य, नगर सदस्य, पत्रकारहरुको उपस्थिति रहेको थियो ।