घरमा तोडफोड, डकैती गर्ने अराजकलाई कडा कारबाही गर्नुपर्छः उपप्रमुख राना

उपकार अनलाइ, सैनामैना ।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले भदौ २३ र २४ गतेको Zen-Z आन्दोलनपछिका घटनाबारे कडा विज्ञप्ती जारी गर्दै आफूले कुनै पनि राजीनामा नदिएको स्पष्ट गरेकी छन्।

रानाले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छन्। साथै आन्दोलनमा घाइते भएका युवाहरू, राष्ट्रसेवक र कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन्।

तर उनले आन्दोलनको नाममा गैर Zen-Z समूहले आफ्नै घरमा तोडफोड, डकैती र आगजनी गरेको दाबी गर्दै, “मसँग घटनामा संलग्न व्यक्तिहरूका तस्बिरहरू छन्, ती प्रमाण नेपाल प्रहरीलाई बुझाउनेछु,” भनेकी छन्।

रानाले आफूलाई कालोमोसो दली बेइज्जत गर्ने, त्रास सिर्जना गर्ने र राजीनामा दिन धम्की दिने कार्य भएको प्रष्ट पार्दै भनिन्– “मैले आधिकारिक रूपमा कतै पनि राजीनामा दिएकी छैन। म अझै उपप्रमुखकै पदमा छु।”

उनले अराजक तत्वहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेकी छन्। नगरपालिकाभित्र भएको क्षतिको क्षतिपूर्ति पनि दोषीहरूसँगै असुल–उपर गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

युवाहरूले अघि सारेका भ्रष्टाचारमुक्त शासन, पारदर्शिता, न्याय र जवाफदेहिताका मागप्रति समर्थन जनाउँदै रानाले भनिन्– “भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्छ।”

रानाले अन्त्यमा सम्पूर्ण युवाहरूसँग संयमित, सजग भई लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गरेकी छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation