सैनामैना नगरपालिकाको विज्ञप्ति: तोडफोड र आगजनी गर्ने दण्डित हुनुपर्छ

विमल गैरे, सैनामैना।

सैनामैना नगरपालिकाले हालै भदौ २३ गते काठमाण्डौमा जेनजीको आव्हानमा भएको भ्रष्टाचार मुक्त शासन, जवाफदेहीता र नातावाद अन्त्य आन्दोलनलाई नैतिक समर्थन जनाएको छ । सो आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

तर आन्दोलनकै क्रममा भाद्र २४ गते काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा देखिएका हिंसात्मक गतिविधि तथा सैनामैना नगरपालिकासहित विभिन्न क्षेत्रमा भएका तोडफोड, लुटपाट र आगजनी घटनाले नगरपालिका दुःख व्यक्त गरेको छ । विशेषगरी सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका सार्वजनिक तथा निजी सम्पत्तिमा पुर्याइएको क्षतिको नगरपालिकाले कडा शब्दमा भर्त्सना गरेको छ ।

नगर प्रमुख फणिन्द्र प्रसाद शर्मा र उपप्रमुख विना रानाले संयुक्त रूपमा जारी विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख, निवर्तमान जनप्रतिनिधि, लुम्बिनी प्रदेशका मन्त्री, उपसभामुखका घर तथा विभिन्न दलका पार्टी कार्यालयमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्नलाई कानून बमोजिम कारबाही गर्न माग गरेका छन् । साथै भएको क्षतिको क्षतिपूर्ति असुल गराउन र यस्ता घटना पुनः नदोहोरोस् भनी स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।

अव आउन लागेको चाडपर्वलाई ध्यानमा राख्दै नगरपालिकाले नगरवासीलाई सचेत, चनाखो रहन र टोल विकास समिति तथा अन्य संघसंस्थासँग मिलेर आवश्यक सहयोग गर्न समेत अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ-
सैनामैना नगरपालिका र यसअन्तर्गतका कार्यालयहरुले नागरिकमैत्री, पारदर्शी र सुशासनयुक्त सेवा प्रवाहलाई निरन्तरता दिनेछ । विद्यमान परिस्थितिको बाबजुद पनि मिति २०८२ भदौ २९ गतेदेखि नगरपालिकाको सम्पूर्ण कार्य सुचारु भइसकेको छ ।
सैनामैना नगरपालिका, रूपन्देही  ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation