
सैनामैना । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सैनामैना नगर कमिटीको विस्तारित भेला मंगलबार पार्टी कार्यलय सैनामैना–३ मा सम्पन्न भएको छ।
भेलाको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं. २ इन्चार्ज गोमा आचार्य रहनु भएको थियो। उहाँले पार्टीका निर्णयहरूले संगठनलाई अझ सुदृढ बनाउने र जनतासँगको सम्पर्क सशक्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
आचार्यले भदौ २३ र २४ गतेको “जेनजी आन्दोलन” लाई लक्षित घटना बताउँदै, आगामी समयमा हुन सक्ने त्यस्ता घटना विरुद्ध प्रतिकारका लागि एमालेले स्थानीय तहमा सुरक्षा सञ्जाल गठन गरिरहेको बताउनुभयो। उहाँले एमालेप्रति देशव्यापी समर्थन बढिरहेको उल्लेख गर्दै, कार्तिक २९ गते बुटवलमा हुने विशाल सभामा सैनामैनाबाट उल्लेखनीय सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य राजु गुरुङले पार्टी निर्णयअनुसार देशका सबै ७५३ स्थानीय तहमा मंगलबार भेला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले मुलुकलाई सही बाटोमा लैजाने सामर्थ्य नेकपा (एमाले) मा मात्रै रहेको बताउनुभयो। आफुले कुनै बेला बाटो विराएको स्मरण गर्दै आगामी दिनमा त्यो गल्ती नगर्ने बाचा गर्नुभयो ।
त्यस्तै, प्रदेश कमिटी सदस्य तथा सैनामैना इन्चार्ज खुसीराम चौधरीले पार्टीले आगामी २९ गते तोकेको सात सयको संख्याभन्दा बढी अर्थात् करिब १५ सय जना कार्यकर्ता बुटवल सभामा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले जेनजी आन्दोलनले देशलाई दशकौँ पछाडि धकेलेको बताउँदै, अब अराजक गतिविधि रोक्न सबै जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रदेश कमिटी सदस्य कमला विश्वकर्मा, कृष्ण प्रसाद घिमिरे, प्रदेश कमिटी सल्लाहकार राम प्रसाद भट्टराई, जीवनाथ पाण्डे, राम प्रसाद पन्थी, शिवराज न्यौपाने, जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मिन प्रसाद पौडल, जिल्ला कमिटी सचिवालय सदस्य खड्क कुवर, विना राना, चन्द्रकान्त भण्डारी लगायत जिल्ला, नगर तथा वडा तहका नेताहरूको उपस्थिति रहेको थियो।
भेलाको अध्यक्षता नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव चामबहादुर क्षेत्रीले गर्नुभएको थियो।












