तिनाउ-२, झ्याङ्लामा न्वागी महोत्सव: खुमन अधिकारी देखि दिपिका बयम्बुसम्मका राष्ट्रिय कलाकारहरु आउदै

बिमल गैरे, रुपन्देही । पाल्पा जिल्ला तिनाउ–२ झ्याङ्लामा भोलि मंसिर ५ गते शुक्रबार १२औं न्वागी महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ को तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी दिएको छ। देवीस्थान मन्दिर विकास समितिको आयोजनामा हुन लागेको यस महोत्सवमा यस वर्ष स्थानीय संस्कृति, कला र परम्परालाई झनै व्यापक रूपमा प्रदर्शन गरिनेछ।

महोत्सवका मुख्य आकर्षणमा चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी, श्याम राना मगर, लोक तथा दोहोरी गायिका दिपिका बयम्बु, गायक गोकुल न्यौपाने, डान्सर साहिर केसी र मेनुका मगरको विशेष प्रस्तुति रहनेछ। साथै, एस.के. डान्स स्टुडियो र ड्रिम क्याचर डान्स एकेडेमीका प्रस्तुतिहरूले कार्यक्रमलाई थप मनोरञ्जनमय बनाउनेछन्। कार्यक्रमको सञ्चालन उद्घोषक सुमन श्रेष्ठले गर्नेछन्।

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय कलाकारहरूको प्रस्तुति, पञ्चेबाजा नाचू, लाइभ दोहोरी लगायतका परम्परागत विधाहरू समावेश गरिने भएकाले महोत्सवले स्थानीय सांस्कृतिक पहिचान झनै उजागर गर्ने विश्वास गरिएको छ।

महोत्सव मंसिर ५ गते, शुक्रबार दिउँसो ४:०० बजेदेखि सुरु हुनेछ। झरना युवा क्लब र लालीगुराँस आमा समूहको सहआयोजनामा सञ्चालन हुने यो कार्यक्रमले झ्याङ्ला क्षेत्रलाई पर्यटन र सांस्कृतिक केन्द्रको रूपमा अघि बढाउन टेवा पुग्ने स्थानीयवासीको अपेक्षा छ।

आयोजक समितिले सबै स्थानीयबासी तथा इच्छुक दर्शकलाई महोत्सवमा सहभागी भई सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धनका लागि सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation