मलमला मन्दिर शिलान्याससँगै पर्यटन विकासको नयाँ आशा

सैनामैना । सैनामैना नगरपालिका–६ स्थित ऐतिहासिक मलमला मन्दिरको शिलान्यास गरिएको छ। मन्दिरको जिर्णोद्धार गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ संरचना निर्माणको प्रक्रिया अघि बढाइएको हो।

शिलान्यास पश्चात् प्रतिक्रिया दिँदै नगरप्रमुख फडेन्द्र शर्माले सैनामैनामा रहेका ऐतिहासिक सम्पदा र धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटन विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले मन्दिर निर्माणका सम्पूर्ण कार्यहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम पाण्डेका अनुसार मन्दिरको समग्र विकासका लागि करिब ४० लाख रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। निर्माण कार्यमा नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानी रहने बताइएको छ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख फडेन्द्र शर्मा, उपप्रमुख बिना राना, निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्की, विभिन्न वडाका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation