हाटबजार टोल विकास संस्थाको नयाँ समिति गठन, अध्यक्षमा थापा

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिका वडा नं. ३ स्थित हाटबजार टोल विकास संस्थाको आठौं साधारण सभा तथा चौथो पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष राधिका शर्माको अध्यक्षतामा सम्पन्न सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।

कार्यक्रममा टोलवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सभामा अध्यक्ष शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा अन्य प्रस्तावमाथि विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। साथै आगामी योजनाबारे पनि व्यापक छलफल भएको थियो।

सोही कार्यक्रममा आगामी योजनाअन्तर्गत टोल क्षेत्रमा सडक बत्ती जडान तथा सिसिटिभी जडान गर्ने कार्यक्रम अगाडि सारिएको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि संस्थाको तर्फबाट नगद रु ५० हजार बराबरको चेक नवगठित समितिलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष तम बहादुर पुर्जाले टोल विकास संस्था स्थानीय विकासको मेरुदण्ड भएको उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव नहुने बताउनुभयो। उहाँले टोलस्तरबाटै सरसफाइ, पूर्वाधार विकास, सामाजिक सद्भाव र जनचेतना अभिवृद्धिमा जोड दिन आग्रह गर्नुभयो। साथै नवगठित समितिलाई पारदर्शी र उत्तरदायी ढंगले काम गर्न सुझाव दिनुभयो।

चौथो पुनर्गठनबाट ११ सदस्यीय नयाँ समिति गठन गरिएको छ। जसको अध्यक्षमा दुर्गा थापा, उपाध्यक्षमा राधा ज्ञवाली, सचिवमा हरि ढकाल, कोषाध्यक्षमा यमकला दर्लामी चयन हुनुभएको छ। सदस्यहरूमा रचना देवकोटा, सारदा ढकाल, सीता वि.क., भारती पुन, जनक बहादुर थापा, विष्णु बानियाँ, कविता ढकाल र लोकेनाथ पौडेल रहनुभएको छ।

त्यसैगरी, लेखा समितिको संयोजकमा भगवती पौडेल चयन हुनुभएको छ भने सदस्यहरूमा गोपाल खरेल र प्रदीप शर्मा रहनुभएको छ।

कार्यक्रमको अन्त्यमा नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाका सल्लाहकार चित्रबहादुर कार्कीले टोलको समग्र विकास, पारदर्शिता र प्रभावकारी व्यवस्थापनका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सल्लाहकार चाम बहादुर क्षेत्री, मित्र बहादुर यसी, प्रेम बहादुर बानियाँ, मिन प्रसाद पौडेल, मिरा क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation