सैनामैना–३ मा नगरस्तरीय 7–ए–साइड फुटबल : तयारी तिव्र वैशाख १९ देखि रोमाञ्चक प्रतिस्पर्धा

सैनामैना । रुपन्देहीको सैनामैना–३ मा आयोजना हुन लागेको नगरपालिकास्तरीय 7–ए–साइड नकआउट फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। नगरभित्रका विभिन्न वडाहरूको सहभागिता रहने यस प्रतियोगितालाई वडास्तरीय प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता स्थलको स्तरोन्नति तथा व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ। मैदानमा आवश्यक पूर्वाधार निर्माणअन्तर्गत गोलपोस्टका लागि पोल गाड्ने काम सम्पन्न भइसकेको छ भने मैदान सम्याउने, सरसफाइ गर्ने लगायतका तयारीहरू तीव्र रूपमा भइरहेका छन्। आयोजक क्लबका अध्यक्ष श्री दर्लामीका अनुसार सम्पूर्ण तयारी लगभग पूरा हुने चरणमा पुगेको छ।

उक्त प्रतियोगिता यही वैशाख १९ गतेदेखि सुरु हुने तय गरिएको छ। स्थानीय खेलप्रेमी युवाहरूको सक्रियतामा आयोजना हुन लागेको यस प्रतियोगिताले नगरस्तरमा खेलकुदको विकास र युवाहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

खेल मैदान तयारीमा उल्लेखनीय सहयोग पुर्‍याएकोमा शान्ति दीप युवा क्लब, सैनामैना–३ लाई आयोजक पक्षले विशेष धन्यवाद व्यक्त गरेको छ। प्रतियोगितामा विभिन्न वडाका टिमहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउनेछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation