महायज्ञको ५८ लाख अझै उठेनः जेठ १५ भित्र रकम बुझाउन प्राकृतिक चिकित्सा केन्द्रको अल्टिमेटम

विमल गैरे, सैनामैना । सैनामैना–१ चारपाला स्थित नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रले करिब १२ वर्षअघि आयोजना गरेको महायज्ञबाट उठ्न बाँकी रकम संकलन गर्न कडा पहल थालेको छ। २०७१ फागुन ७ देखि १६ गतेसम्म सञ्चालन गरिएको महायज्ञबाट अझै केही रकम उठ्न बाकी रहेकोले विभिन्न ठाउमा तिर्न पर्ने रकम तिर्न नसकेकोप्राकृतिक चिकित्सा केन्द्रलेजनाएको छ।

संस्थाका अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार महायज्ञमार्फत करिब ५ करोड ९० लाख रुपैयाँ बराबरको लिखित प्रतिबद्धता आएको थियो। तर हालसम्म करिब ५ करोड ३१ लाख रुपैयाँ मात्र संकलन भएको र अझै ५८ लाख ३७ हजार २३० रुपैयाँ उठ्न बाँकी रहेको छ। त्यसमध्ये ५३ लाख ७७ हजार ७०७ रुपैयाँ तिर्नुपर्ने बताइएको छ।

अपेक्षित रकम संकलन हुन नसक्दा केन्द्र सञ्चालनमा पटक–पटक समस्या आएको र विभिन्न संघ–संस्थाबाट लिएको ऋणसमेत तिर्न कठिन भएको संस्थाले जनाएको छ। व्यवसायिक निकायहरूको निरन्तर दबाब बढ्दै गएको भन्दै अब थप ढिलाइ सह्य नहुने संकेत गरिएको छ।

यसैबीच, कार्यसमिति बैठकले महायज्ञमा प्रतिबद्धता जनाएका दाताबाट बाँकी रकम अनिवार्य रूपमा उठाउने निर्णय गरेको छ। पत्रकार सम्मेलनमार्फत संस्थाले सबै दातालाई आगामी जेठ १५ गतेभित्र आफूले कबुल गरेको रकम बुझाउन आग्रह गरेको छ।

निर्धारित समयभित्र रकम नबुझाए सञ्चारमाध्यममार्फत दाताहरूको नाम र फोटो सार्वजनिक गर्ने चेतावनी समेत दिइएको छ। अध्यक्ष कार्कीले यस्तो कदम कसैलाई लक्षित नभई संस्थाको अस्तित्व जोगाउन बाध्य भएर चाल्नुपरेको स्पष्ट पारे।

“इमान्दारीपूर्वक रकम बुझाउने दाताहरूलाई अन्याय हुन नदिन पनि बाँकी रकम उठाउनैपर्छ,” अध्यक्ष कार्कीले भने।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation