शान्तिदीप कप फुटबल प्रतियोगिता भव्य रूपमा सुरु

सैनामैना। सैनामैना नगरपालिका वडा नं. ३ मा अवस्थित शान्तिदीप युवा क्लबको आयोजनामा वडास्तरीय सेभेन–ए–साइड ‘शान्तिदीप कप’ फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा विभिन्न वडाबाट सहभागिता जनाउँदै कुल १६ टिम प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले खेलकुदले खेलाडी उत्पादनसँगै स्थानीय खेलमैदानको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले खेल क्षेत्रलाई व्यवस्थित बनाउन नगरपालिका योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सैनामैना नगर खेलमय बन्दै गएको उल्लेख गर्दै यसको निरन्तरताका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमकी विशिष्ट अतिथि उपप्रमुख विना रानाले खेलकुद तथा खेलाडीको हौसला अभिवृद्धिका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउँदै यस्ता प्रतियोगितालाई आगामी दिनमा अझ सशक्त रूपमा सहयोग गरिने जानकारी दिनुभयो।

वडा नं. ३ का अध्यक्ष तम बहादुर पुर्जाले खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउन सकिने उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने बताउनुभयो।

त्यसैगरी, समाजसेवी चित्रबहादुर केसी, सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपानेलगायतले बोल्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो। क्लवका अध्यक्ष श्री दर्लामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्लबकी उपाध्यक्ष सुमित्रा पौडेलले र सञ्चानल सञ्चारकर्मी कृष्ण भण्डारीले गर्नुभएको थियो ।

उद्घाटन खेलमा सैनामैना वडा नं. ४ ‘ए’ ले विजयी सुरुवात गरेको छ। खेलको पहिलो हाफमै जर्सी नं. ७ का खेलाडी राजिव चापागाईंले निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप गोल हुन नसक्दा सोही अग्रता कायम राख्दै वडा नं. ४ ‘ए’ ले १–० को जित हात पारेको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ७ का जर्सी नं. ८ का खेलाडी अमन थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। स्थानीय स्तरमा आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation