शान्तिदिप कपको उपाधिका लागि भोलि सैनामैना ४ र सैनामैना ३  भिड्दै

सैनामैना । रुपन्देहीको शान्तिदिप युवा क्लब को आयोजनामा जारी प्रथम शान्तिदिप कप सैनामैना नगरस्तरीय वार्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बैशाख २७ गते आइतबार हुँदैछ ।

उपाधिका लागि सैनामैना ४ (बी) र घरेलु टोली सैनामैना ३ (बी) आमनेसामने हुने भएका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सैनामैना ४ (बी) ले सैनामैना १० (बी) लाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । उक्त खेलमा सैनामैना ४ (बी) का गौरव पौडेल म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सैनामैना ३ (बी) ले सैनामैना १० (ए) लाई टाईब्रेकरमा २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सैनामैना ३ (बी) का गोलरक्षक तुफान कुमाल म्यान अफ द म्याच चुनिएका थिए ।

प्रतियोगिताका विजेताले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फाइनल खेललाई भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी भइरहेको आयोजक क्लबका अध्यक्ष श्री दर्लामी मगरले जानकारी दिएका छन् ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation