
बुटवल, असार १० । दाँत तथा मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा रहेको अवस्थामा बुटवल–१३ बेलबासमा ‘निदान डेन्टल क्लिनिक’को नयाँ शाखा सञ्चालनमा आएको छ ।
अर्घाखाँचीको सन्धिखर्क र कपिलवस्तुको चन्द्रौटामा सेवा दिँदै आएको क्लिनिकले बुधबारदेखि बुटवलमा पनि सेवा विस्तार गरेको हो । ग्रामीण तथा अर्धसहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय, आधुनिक र सहज दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको क्लिनिकले जनाएको छ ।
क्लिनिकको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामजीप्रसाद घिमिरेले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्र नाफाभन्दा सेवामुखी हुनुपर्ने उल्लेख गर्दै निजी स्वास्थ्य संस्थाहरूले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्र सेवामूलक कम नाफा र व्यवसायमूलक ज्यादा रहेको गुनासाहरुलाई मध्यनजर गर्दै त्यस्ता गुनासा आउन नदिनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले आधुनिक प्रविधिको प्रयोगमार्फत उपचारलाई थप गुणस्तरीय, विश्वसनीय र सर्वसुलभ बनाउन आग्रह गरे ।
प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै स्वास्थ्य सेवा विस्तारमा प्रतिबद्ध रहेको उल्लेख गर्दै नीतिगत समस्या भए समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उद्घाटनकै अवसरमा मन्त्री घिमिरेले दाँतको स्वास्थ्य परीक्षण गराउँदै नियमित मुख तथा दन्त स्वास्थ्य परीक्षणको महत्वबारे समेत सन्देश दिएका थिए ।
आधुनिक प्रविधिसहित दन्त सेवा
क्लिनिकका डेन्टल सर्जन हेमराज गैरेका अनुसार बेलबास शाखामा दाँतसम्बन्धी अधिकांश उपचार सेवा उपलब्ध हुनेछ । यहाँ डिजिटल एक्स–रे ९आरभीजी०, दाँत सफा गर्ने ९स्केलिङ०, कम्पोजिट फिलिङ, रुट क्यानल उपचार ९आरसीटी०, सामान्य तथा शल्यक्रियामार्फत दाँत निकाल्ने, कृत्रिम दाँत जडान गर्ने, स्थायी दाँत राख्ने, बालबालिकाको दन्त उपचार तथा ब्रेसेससम्बन्धी परामर्श सेवा उपलब्ध रहनेछ ।
क्लिनिक परिसरमा राखिएको नागरिक बडापत्रअनुसार दन्त परीक्षण तथा परामर्श सेवा निःशुल्क प्रदान गरिनेछ भने डिजिटल एक्स–रे, स्केलिङ, फिलिङ, आरसीटी र अन्य सेवाका लागि तोकिएको शुल्कका आधारमा सेवा उपलब्ध हुनेछ । क्लिनिक दैनिक बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
क्लिनिकका सञ्चालक तथा युवा उद्यमी बाबुराम पोखरेलले आधुनिक उपकरण र दक्ष जनशक्तिको माध्यमबाट सेवा सञ्चालन गरिने बताए । उनले उपचारसँगै बिरामीलाई दन्त स्वास्थ्यबारे सचेतना दिने कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिए । शुभारम्भ भएको एक साता सम्म विभिन्न प्याकेजमा निशुल्क सेवाको समेत प्रबन्ध गरिएको उनले बताए ।












