रूपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाइ गाउँपालिकाले सिचाई समस्या समाधानका लागी कृषिमिटर जडान गर्ने निर्णय गरेको छ ।
एउटा मात्र मुख्य मिटर जडान गरी सिंचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पुर्ण बिद्युत महसुल गाउपालिकाले तिर्ने प्रतिबद्धता सहित बिद्युतीय पुर्वाधार निमार्ण गर्न नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रसंग गाउपालिकाले माग गरेको छ ।
अधिकांश कृषियोग्य भूमि असिंचितरही समस्या भईरहेको भन्दै सम्पूर्ण वडामा एकसय के.भि.ए.को ट्रान्सफर्मर तथा विद्युतीय लाइन विस्तारगर्न आग्रह गर्दै सिंचाइ प्रयोजनमा खपतहुने महशूल गाउपालिकाले तिर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रचुर सम्भावना रहेको कृषि क्षेत्रमा बृद्धि, विस्तार र युगीन क्रान्ति ल्याउन तथा किसानलाई सिंचाइमा सहजीकरणका लागि लाग्ने सम्पूर्ण विद्युतीय महशूल गाउपालिकाले नै तिर्ने निर्णय गरिएको कोटहीमाई गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
जिल्लाका विभिन्न स्थानीय तहले स्थानीयवासीलाई विभिन्न किसिमको सुविधा उपलब्ध गराउँदै आएको भएपनि कृषिक्षेत्रको बृद्धि–बिकासका लागि सिंचाइ कार्यमा प्रयोगहुने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय लुम्बिनी प्रदेशमै पहिलो हो । गाउँपालिका अध्यक्ष त्रिपाठीले भने, “सिंचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुल गाउँपालिकाले तिर्ने निर्णय भएपनि विद्युतको दुरुपयोग हुने सम्भावना रहेकोले त्यसलाई रोक्न गाँउपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था समेत गर्नेछ ।”
माघ ११ गते बसेको कोटहीमाई गाउँ कार्यपालिकाको बैठकले गाउपालिकामा स्वीकृत भएका योजना मध्ये डिप टयुवेल, बोरिंग तथा हयाण्ड पम्प जडान कार्यमा संलग्न बमोजिम तथा एम्बुलेन्स सेवा संचालन कार्यबिधी २०७९ समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।