
रुपन्देही । लुम्बिनी प्रदेशमै पहिलोपटक रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने भएको छ।
लामो समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरु लिदा भोगिरहेको झन्झटबाट मुक्त हुने बाटो खुलेको छ। बिहीवार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ–सिफारिसको प्रयोग तथा प्रारम्भिक प्रस्तुति गरिएको छ।
गाउँपालिकाले सेवाग्राहीको सहजीकरणको लागि ‘स्मार्ट पालिका ’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी गरेको छ। सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न गाउँपालिका अध्यक्ष, वडाका अध्यक्ष र कर्मचारीलाई प्रारम्भिक चरणको तालिम प्रदान बिहीवारबाट दिन सुरु गरिएको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यालयमा डिजिटल प्रविधिको प्रयोगले सेवाप्रवाहमा हुने ढिलासुस्तीको अन्त्य गर्ने बताउनुभयो । पालिकावासीलाई अधिकतम सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवा सुरु गर्न लागिएको उहाले बताउनुभयो ।जनतामा सेवा प्रवाह गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरु प्रविधिलाई अगाल्दै जानुपर्ने बताउनुभयो । अध्यक्ष बस्यालले लुम्बिनी प्रदेशमै अनलाइन सेवा प्रवाह गर्ने शुद्धोधन पहिलो पालिका भएको बताउनुभयो । अबको बढीमा १ महिना भित्र प्रारम्भिक चरणमा सामान्य सेवा प्रवाह गरिने र समय सङ्गै अन्य सेवाहरुपनि बिस्तार गरिने उहाले बताउनुभयो ।
स्मार्ट पालिका सफ्टवेयर डेभलपरले तयार गरेको एपमा गाउँपालिकाका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जन गुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोज भट्टराईले बताउभयो। उहाले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट पालिकाले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दाबी गर्नुभयो । उहाका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा काठमाडौ महानगर र वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप गाउँपालिकामा सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो । ।












