छात्रालाई अश्लील सामग्री देखाउने काभ्रेका शिक्षकलाई १ वर्ष ३ महिना कैद सजाय

काभ्रेपलाञ्चाेक । छात्रालाई अश्लील सामग्री देखाएको आराेपमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिबानाकाे फैसला गरेको छ ।

प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ काे सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, १५ हजार रुपैयाँ जरिबाना गर्नुका साथै चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको छ । त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट अहिले फरार छन् ।

बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिबानाको फैसला सुनाएको हो । २०७८ फागुन १२ गते भएको घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation