बिवादका कारण रुपन्देहीमा सुरु हुन सकेन मतगणना

बुटवल । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदान कार्य सकिएपछि आईतबार रातीदेखि नै मतगणना सुरु हुने भनिएपनि रुपन्देहीमा भने अझै मतगणना कार्य शुरु हुन सकेको छैन।

हिंजो सांझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराएर मतपेटिकालाई सुरक्षित रुपमा मतगणना स्थलमा पुर्याएपछि रातीदेखि नै मतगणना गरिने निर्वाचन कार्यालयले बताएको थियो। तर केहि राजनितिक दल र दलका प्रतिनिधिहरुले विवाद सृजना गरेपछि मतगणना कार्य शुरु हुन नसकेको हो।

रुपन्देही क्षेत्र नं. २ को मतपेटिकाहरु बुटवल निर्वाचन कार्यालयमा ल्याईएपनि माओवादी केन्द्रका उम्मेदवार र प्रतिनिधिले विवाद सृजना गरेको एक उम्मेदवारले बताए। माओवादी केन्द्रका प्रतिनिधीले अनावश्यक बिवाद झिके त्यसैले गणना सूरु हुन सकेन उनले भने।

उनका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सर्वदलीय छलफलमा निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने माओवादी केन्द्रका उम्मेदवारले माग राखेपछि सहमती जुट्न नसकेको हो।

जिल्लाका अरु निर्वाचन क्षेत्रको पनि मतगणना कार्य शुरु हुन सकेको छैन। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले राती कुनैपनि क्षेत्रको मतगणना कार्य शुरु नभएको बताए। रुपन्देहीका पांच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको मत गणना ५ वटा निर्वाचन क्षेत्रमा अलग अलग हुने छ।

क्षेत्र नं ३ को मतगणनास्थल भैरहवामा पनि मतगणना स्थल बाहिर बिवाद भएपछि मतगणना सूरु हुन नसकेको जनाएका छन्। बिवादमा एकजना घाईते भएका छन्।

क्षेत्र नं ५ को मतगणना अहिले बिहान ७ बजेबाट हुने बताईएको छ भने क्षेत्र नं १ र ४ मा समेत मतगणना सुरु गर्नका लागि दलहरुका बिचमा छलफल भई रहेको छ।

यसअघिका आम निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा हुंदै आएको थियो। निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा,४ को मझगावा मावि मर्चवारमा र ५ को गंैडहवा गाउपालिकाको नयां प्रशासनिक भवनमा हुने निर्वाचन कार्यालयले जनाएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation