रेसुङ्गा नगरपालिकाले एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक रूपमा सो रकम उपलब्ध गराउने भएको छ ।

नगर कार्यपालिकाको बैठकले विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने निर्णय गरिएको हो । सो सुविधा लिनको लागि विद्यार्थीले नगरभित्रकै विद्यालयमा अध्ययन गर्नुपर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पीताम्बर पन्थीले बताउनुभयो । देशका जुनसुकै विद्यालयबाट ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरूले रेसुङ्गा नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरेमा प्रोत्साहन स्वरूप कक्षा ११ मा अध्ययन गर्ने समयसम्म मासिक एक हजार रुपियाँ उपलब्ध गराइनेछ । सोही विद्यार्थीले कक्षा ११ मा पनि ३.२ वा सो भन्दा बढी जिपिए ल्याएमा कक्षा १२ मा पनि उक्त सुविधा प्राप्त गर्नेछ । यस कार्यक्रमका लागि नगरपालिकाले वार्षिक २७ लाख लागत लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यस नगरपालिकाले ०७९ मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने नगरपालिका भित्रका विद्यार्थीहरू पालिकाभित्रकै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ अध्ययनको लागि मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयअन्तर्गत पहिलो वर्षका १६ जनाले ९६ हजार प्राप्त गरेका छन् । मासिक चार हजार उपलब्ध गराउँदा खर्च बढी आएकोले पहिलेको निर्णय परिमार्जन गरिएको हो ।

नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बढी अङ्क ल्याउने विद्यार्थीहरूलाई गाउँमै अध्ययनको व्यवस्था मिलाउन प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation