
कपिलवस्तु । पछिल्लो केही दिनदेखि कपिलवस्तु, रुपन्देही सहित तराइ मधेसका जिल्लामा बढ्दै गएको गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको हो ।
कपिलवस्तुमा बिहान सबेरै देखि सुरु हुने गर्मी मध्याह्नसम्म ४० डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले दैनिक जनजीवन कष्टकर बन्दै गएको हो । आज पनि वाणगङ्गाको तापक्रम ४० डिग्र सम्म पुगेको थियो ।
गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्धवृद्धा र दिनभरि काम गरेर खाने मजदुरलाई प्रभावित पारेको छ । कतिपय विद्यालयले गर्मी बिदा दिएका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडकमा आवागमन समेत पातलो भएको छ ।
यसैबिच अत्याधिक गर्मी बढेको भन्दै कपिलवस्तुका दुई नगरले नगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेका छन । जिल्लाको बाणगंगा र कपिलवस्तु नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।
आज शुक्रवार नगर भित्रका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक र नगर कार्यसमितिको संयुक्त बैठकले बाणगंगामा यहि जेष्ठ २२ गते देखि २८ गते सम्म र कपिलवस्तु नगरपालिकाले २२ गते देखि २६ गते सम्म नगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन कार्यमा समस्या उत्पन्न भएको र साना बालबालिकाहरुलाई अझ धेरै समस्या परेको भन्दै विद्यालय बन्द गरिएको दुबै नगरपालिकाले विज्ञप्ति निकाली जानकारी गराएका छन ।
यसैबिच मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ’लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन ’लु’ लाग्न सक्ने चेतावनी दिएको हो । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकले सुझाव दिएका छन् । शरीर पुरै ढाकिने कपडा लगाएर हिँडेमा छालाजन्य रोगबाट बच्न सकिने बताएका छन ।