विपद्‍बाट १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति

काठमाडौं  विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन सुरू भएसँगै विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु भएको हो। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए। त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उनले बताए। उनले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताउनु भयो।

‘यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ। यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरूमा संखुवासभा,ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ। असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरूबाट देशको पूर्वी भुभागका संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरूको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन्’, उनले भने, ‘विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्ण रुपमा क्षति भएको जानकारी प्राप्त भएको छ। विवरण आउने क्रम अझै जारी छ।’

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए। उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताए।

‘विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउनेव्यवस्था मिलाइएको छ’, उनले भने, ‘घरवास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ। तत्काल खोज, उद्दार तथा राहत सम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ।’

उनले राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तह लगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation