सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशविन्दुमा पहिरो खसेर क्षति

पाल्पा । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण सुरु भएको सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दु पुरेको छ । चार दिनअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो ।

उत्तरतर्फ हेडबक्स रामापिथेकसपार्कतर्फ रहेको सुरुङ प्रवेशविन्दुमा पनि पहिरो खसेर पुरेको छ । दुवैतर्फको सुरुङ प्रवेश मार्गमा पहिरो खसेको हो । उत्तरतर्फको भागमा ठूलाठूला ढुंगासहितको पहिरो खसेको छ । उत्तरतर्फको प्रवेशविन्दुमा जोखिमपूर्ण ढुंगा भिरमा अड्किएको छ । पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालले जानकारी दिए ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम अघि बढेको हो । सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले साउथ र नर्थ पोर्टलमा प्रवेशविन्दु ‘रिब’ राखेर एङ्करिङको काम सुरु गरेको थियो । सडक विभागका कर्मचारी र स्विस सरकारका कन्सल्ट्यान्डबीच डिजाइन स्वीकृत नभएकाले काममा भने तीव्रता दिएको थिएन । सुरुङ् सुरु हुने उत्तर र दक्षिणको प्रवेशद्वारमा एङ्करिङ गरेर त्यसको माथि कंक्रिटको काम सुरु गरेको अवस्थामा पहिरोले पुर्ने र क्षति पुर्याएको आयोजना प्रमुख जयसवालले बताए ।

दुवै प्रवेशविन्दुमा साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायतका पूर्वतयारीका काम गत फागुन दोस्रो हप्तादेखि सुरु भएको आयोजनाले जनाएको छ । सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो । जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले पाएको छ । स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले गरेको अध्ययन प्रतिवेदनअनुसार नै काम अघि बढेको सडक विभागले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का लागे पनि एक वर्ष बढी म्याद गुज्रिसकेको छ ।

भ्याटसहित ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लागेको हो । ५८ करोड निर्माण व्यवसायीले पेश्की लिएर प्रारम्भिक काम अघि बढाएको छ । हिउँद र वर्षायाममा ढुंगा र पहिरो खस्ने यस क्षेत्रमा पाल्पा, गुल्मीलगायत पहाडी र हिमाली भेगका बासिन्दा वर्षौंदेखि असुरक्षित यात्रा गर्दै आएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुन २५ गते कामको सम्झौता भएको हो । तर विस्तृत अध्ययन परियोजना अझै स्वीकृत भएको छैन । सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर सुरुङ निर्माण हुनेछ ।

उत्तरतर्फ रामापिथेकसपार्कबाट सुरु भएर दक्षिणतर्फ पाल्पातर्फको सिद्धबाबा मन्दिरनजिक पुगेर टुंगिन्छ । पछिल्लो १० वर्षमा सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा ४ सय २१ यात्रुले ज्यान गुमाइसकेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation