कपिलवस्तुमा लम्पी स्किन बाट ८ हजार ४६ पशु संक्रमित हुँदा १७७ पशुको मृत्यु

कपिलवस्तु । कपिलवस्तु लम्पी स्किनका कारण धमाधम गाईवस्तुहरु मर्न थालेका छन्। जिल्लामा लम्पी स्किन रोगले महामारीको रुप लिए पछि गाईवस्तुहरु धमाधम मर्न थालेका हुन् ।

गाईवस्तु एकाएक मर्न थालेपछि कृषक चिन्तित बनेका छन्। जिल्लामा ८ हजार ४६ गाईगोरु लम्पी स्किन रोगबाट संक्रमित भएको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ। यस्तै सो रोगबाट १ सय ७७ गाई गोरु मरेका छन्।

गत कात्तिक महिनाबाट लम्पी स्किन रोग देखा पर्न थालेको विज्ञ केन्द्रका प्रमुख बिष्णु खनालले बताए। जिल्लामा पहिलो पटक कपिलवस्तु नगरपालिकामा देखा परेको भएपनि अहिले जिल्लाभर यसको प्रकोप फैलिएको छ। कपिलवस्तुको १० पालिका मध्ये मायादेबी र यशोधरा गाउपालिका बाहेक ८ पालिकामा लम्पी स्किन रोग फैलीएको खनालले बताए। लम्पी स्किन रोगका कारण गाईगोरु मर्नुका साथै दुध उत्पादनमा ह्रास आएको प्रमुख खनालले बताए। लम्पी स्किन रोगले उन्नत जातका जर्सी र होलिस्टेन गाईगोरुमा धेरै असर गरेको उनले बताए।

संक्रमणले दुध उत्पादन र बिक्री वितरणमा समेत कमी आएको छ कृषकहरु बताउँछन। केन्द्रमा असारका अन्तिम साता लम्पी स्किनको भ्याक्सिन किन्न ७ लाख रकम आएको थियो। सोही रकमले भ्यासिक्न खरिद गरी १० दिन अघिबाट संक्रमित गाईबस्तुलाई भ्याक्सिन लगाउन सुरु गरिएको प्रमुख खनालले बताए। केन्द्रले २ हजार ६ सय भ्याक्सिन खरिन गरेका थियो। सबैभन्दा धेरै प्रभावित रहेको बाणगंगा नगरपालिकाबाट भ्याक्सिन लगाउन सुरु गरिएको पशु चिकित्सक यमलाल पोख्रेलले बताए। गत साउन १४ सम्म २ हजार ८५ वटा पशुलाई भ्याक्सिन लगाइ सकिएको छ। यस्तै १ सय २० गाई वस्तुलाई उपचारर्थ राखिएको छ। लम्पी स्किन  फैलिँदै गर्दा प्राविधिक जनशक्तिको समेत अभाव देखिएको छ। विज्ञ केन्द्र र १० पालिकाभर ४० जना पशु प्राविधिक छन्।

विज्ञ केन्द्र अनुसार १० जना प्राविधिकहरू भ्याक्सिन लगाउन खटिएका छन्। उता लम्पी स्किनका लागि केहीले निजी स्तरबाट समेत भ्याक्सिन खरिद गरको छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित साना किशानले ८ सय डोज भ्याक्सिन खरिद गरी बाडेको छ। बाणगां नगरपालिकामा निजी स्तरबाट ७५ र बुद्धभुमी नगरपालिकामा ५० डोज भ्याक्सिन खरिद गरिएका छन्। लम्पी स्किन रोगको नियन्त्रणका लागि ३ वटै तहका सरकार गम्भीर बन्नु पर्ने नेपाल कृषक महासंघका जिल्ला अध्यक्ष गंगा बहादुर बिस्टले बताए। देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोग समयमै नियन्त्रण गरि भौतिक र आर्थिक क्षति हुनबाट रोक्न तीनै तहका सरकार जिम्मेवार बन्न पर्ने उनले बताए ।

-नागरिक अनलाइन

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation