कृषि मन्त्री भुसाल : सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन्।

उनले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताए। यद्यपि सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए।

उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए। कार्यविधि पास हुने वित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ।

उहाँले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताए। मन्त्री भुसालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए।

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनविरुद्ध उपचार, लक्षणलगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation