
उपकार अनलाईन, सैनामैना ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने बताएका छन् । विहिवार लुम्विनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुसंगको परिचय कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
लामाले आफ्नो कार्यकालमा गुरूयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिरको स्वरुप फेर्ने समेत बताएका छन् । प्रत्रकारहरुको प्रश्नको जवाफमा लामाले लुम्विनी विकास कोषभित्र आर्थिक पारदर्शिता नभएको प्रश्नमा स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताएका हुन् । उनले आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान पुराउन आफ्नो उद्देश्य रहेको जिकिर गर्दै उनले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारर्दशिता कायम राख्न निर्देशन दिइएको बताए ।
लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने र लुम्बिनी विकास कोष क्षेत्रमा पशु बध र मासु विक्रि वितरण अव्यवस्थित हुंदा लुम्बिनीको गरिमामा आंच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा लामाले जोड दिए ।