सल्यानमा आगलागीमा परीआमाछोरीको मृत्यु

सल्यान । सल्यानमा एउटा घरको कोठामा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा बस्ने ३२ वर्षीया रेवती थापा र उनकी ९ महिनाको छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शुक्रबार साँझ सुतेकोमा शनिबार बिहानसम्म कोही पनि नउठेपछि स्थानीयले ढोका खोली हेर्दा सुती रहेको विस्तरामा आगो सल्किन गई जलेर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान कार्यलाई अघि बढाइसकेको उनको भनाइ छ।

जलेर मृत्यु भएको भनिएका आमाछोरी टिनले छाएको  एकतले कच्ची घरमा बस्दै आइरहेका थिए। के कारणले आगलागी सुरु भयो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation