
कपिलवस्तु । बाणगंगाको मनकामना सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०÷८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज वन कार्यालयको प्राङ्गणमा भएको १६ आँै वार्षिक साधारण सभा मार्फत उक्त रुपैँया बराबरको अनुमानित बजेट वनका अध्यक्ष मुक्त बहादुर कार्कीले प्रस्तुत गर्नुभएको हो ।
बजेट प्रस्तुत गर्दै अध्यक्ष कार्कीले वन व्यवस्थापन, वन विकास, वन संरक्षण गरिवी न्युनिकरण तथा महिला सशक्तिकरण, समुदायको हित लगायतका शिर्षकमा विभिन्न कार्यक्रम ल्याएको भन्दै ति कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने बताउनु भएको छ । उहाँले पहिलो वर्षमा केहि गल्ती कमजोरी भएपनि ति कमजोरीहरुलाई आगामि वर्षहरु बाट क्रमश सुधार गर्दै लैजानेमा समेत प्रतिबद्धता व्याक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले हाम्रा सन्ततिहरुको लागि भएपनि वन क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनु भएको छ । हरेक प्राणीको लागि नभैनहुने वन क्षेत्र विश्वभरि नै मासिदै गैरहेको भन्दै यसको संरक्षण गर्नु हामि सबैको दायित्व रहेको उहाँले बताउनु भएको छ । सामुदायिक वनहरु बाट प्रशस्त आम्दानी गर्न सकिने भन्दै त्यसलाई बचाई राख्न वनको संरक्षण र व्यवस्थापन अपरिहार्य रहेको उहाँले बताउनु भयो । सामुदायिक वनहरुले प्रदेश सरकारलाई तिर्ने कर समेत घुमिफिरी यहि क्षेत्रको विकासको लागि प्रयोग हुनेभएकाले कर तिर्न हिचकिचाहट नगर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
त्यस्तै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने भएकाले वन समृद्धिका सुचकहरु रहेको बताउनु भएको छ । मेयर अर्यालले विभिन्न उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्दै उपभोक्ताको आय आर्जन वृद्धि गर्नुपर्ने बताउनु भयो । विभिन्न कार्यक्रम गर्दा दक्ष जनशक्ति र प्राविधिकहरुको आवस्यक पर्ने भएकाले वडा र नगर सङ्ग समन्वय गरेर कार्यक्रम गर्न पनि उहाँले आग्रह गर्नुभयो । सामुदायिक वनहरुले अब कार्यक्रम र योजनाहरु ल्याउँदा नया नियम र मापदण्ड अनुसार चल्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।
त्यस्तै डिभिजन वन कार्यालय तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले पछिल्लो समय सामुदायिक वनहरु जनताको धन भएको बताउनु भएको छ । विगतको समयमा वन बाट प्रभावकारी कार्यक्रम गर्न नसक्दा आम्दानी गर्न नसकिने स्थिती रहेको भन्दै अहिले त्यो अवस्था क्रमश हराउँदै गएपनि व्यवस्थापनको क्षेत्रमा भने अझै धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो । वनले ल्याएका योजना र कार्यक्रमहरु एक पटक पेश गरिसकेपछि परिवर्तन गर्न नमिल्ने भएकाले वार्षिक साधारण सभामा सम्पुर्ण उपभोक्ताहरुको उपस्थितीमा वृहत छलफल र बहस गर्न आवश्यक रहेको समेत उहाँले बताउनु भयो ।
त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडामा पाँच वर्षको लागि आउने बजेट सामुदायिक वनहरुले एकै वर्षमा ल्याउने भएकाले उक्त बजेटको सहि सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । फरक प्रसङ्गमा उहाँले नगरको प्रमुख समस्याको रुपमा रहेको छाडाचौपायाको समस्यालाई समाधान गर्न बाणगङ्गा नगरपालिका सक्रिय रुपमा लागेको समते बताउनु भयो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय पिपराका प्रमुख, समुहका निवर्तमान अध्यक्ष अमित पौडेल, सल्लाहकार बालाराम ज्ञवाली, विद्यालयको तर्फबाट बाल मावि बैरियाका प्रधानाध्यापक टिकाराम पौडेल, बाणगङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुहका अध्यक्ष विश्व कार्की, समुहका सल्लाहकार तथा बाणगङ्गा मौरि पालक कृषि सहकारी सस्थाका अध्यक्ष लिलापती घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै वन बाट हुने आम्दानीलाई सहि सदुपयोग र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नका अध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा बनका पादधिकारी, सल्लाहकार, उपभोक्ता सुरक्षकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
समुहका उपाध्यक्ष पुस्कर घिमिरेको स्वागत तथा समुहकी सचिव गङ्गा कुमारी भट्टराईको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाइ सम्मान समेत गरिएको थियो ।