सैनामैना–३ मा आर्चरी (तारो खेल) प्रतियोगिता सम्पन्न, देवदह आर्चरी क्लब ‘ए’ प्रथम

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालित आर्चरी (तारो खेल) प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगितामा सैनामैना तथा छिमेकी पालिकाहरुका विभिन्न क्लब र समूहहरूको सहभागिता रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्रीले खेलकुदले युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने बताउँदै परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले सामाजिक एकता, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्नुभयो।

प्रतियोगितामा सहभागी खेलाडीहरूले पनि आर्चरी खेलप्रति आकर्षण बढ्दै गएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र ठूलो स्तरका प्रतियोगिता आयोजना गर्नुपर्ने धारणा राखेका थिए। सहभागीहरूले वडा कार्यालयले खेलकुद विकासका लागि गरेको पहल प्रशंसनीय रहेको बताए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देवदह आर्चरी क्लब ‘ए’ प्रथम, अरनिको क्लब ‘बी’ द्वितीय तथा देवदह आर्चरी क्लब ‘बी’ तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रथम स्थान हासिल गरेको देवदह आर्चरी क्लब ‘ए’ का प्रतिनिधिले टोलीको सफलतामा खुसी व्यक्त गर्दै निरन्तर अभ्यास र टोलीगत एकताका कारण सफलता प्राप्त भएको बताउनुभयो। उहाँले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाउनुभयो।

द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीका खेलाडीहरूले पनि प्रतियोगिताले अनुभव आदान–प्रदान तथा खेलप्रतिको उत्साह बढाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विजेता टोलीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गर्दै प्रतियोगिता समापन गरिएको आयोजकले जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation