रोजगार, सीप विकास र सुरक्षित आप्रवासनबारे सैनामैनामा अन्तरक्रिया

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिकाको आयोजनामा रोजगार, सीप विकास, उद्यमशीलता तथा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका शाखा प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार गर्ने, युवाहरूलाई सीपमूलक तालिमसँग जोड्ने, उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने तथा वैदेशिक रोजगारीमा जाने नागरिकलाई सुरक्षित आप्रवासन सम्बन्धी जानकारी प्रदान गर्नु रहेको रोजगार सेवा केन्द्रकी संयोजक नरमाया सुवेदीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बेरोजगारी न्यूनीकरणका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै सीप, ज्ञान र मेहनतलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाले सुरक्षित आप्रवासनका विषयमा सचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरूले कानुनी प्रक्रिया पूरा गरेर मात्र जानुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियामा सहभागी जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरूले युवामैत्री कार्यक्रमहरू बढाउनुपर्ने, सीपमूलक तालिमलाई रोजगारसँग प्रत्यक्ष जोड्नुपर्ने तथा स्थानीय स्तरमै उद्यम सञ्चालनका लागि सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए।

यस्तै स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना अभिवृद्धिका लागि यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रशासन प्रमुख रामकुमार भट्टराईको सहजीकरणमा सम्पन्न कार्यक्रमले रोजगार, सीप विकास, उद्यमशीलता तथा सुरक्षित आप्रवासनका विषयमा साझा धारणा निर्माण गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation