
विमल गैरे, सैनामैना। आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी तथा समावेशी बनाउने उद्देश्यले सैनामैना नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी आर्थिक वर्षका लागि नगरपालिकाले तय गर्न लागेका प्राथमिकता, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सुशासनका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले नगरवासीको आवश्यकता र अपेक्षाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिएका थिए।
छलफलका क्रममा नगर प्रमुख फणेन्द्र प्रसाद सर्माले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनभावनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरिने बताउनुभयो। उहाँले प्राप्त सुझावहरूलाई समेट्दै नगरको समग्र विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर उकास्ने खालका योजना अघि बढाइने उल्लेख गर्नुभयो।
उपप्रमुख विना रानाले समावेशी विकास, महिला, युवा तथा विपन्न वर्गलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउँदै सबै पक्षको सुझाव नीति तथा कार्यक्रममा समावेश गरिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले विकास योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता, जवाफदेहिता तथा स्थानीय आवश्यकतामा आधारित बजेट विनियोजनमा जोड दिएका थिए।
नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर आगामी नगर सभामा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ।












