डुबानमा नागरिक, मौन स्थानीय सरकार : सैनामैना–३ को सुनगाभा टोलको पीडा कसले सुन्छ ?

विमल गैरे, सैनामैना ।
शनिबार दिउँसो करिब १२ बजेको समय । सैनामैना नगरपालिका वडा नं.–३, सुनगाभा टोल पुग्दा एउटा दृश्यले मन नै भारी बनायो । एक जना वृद्ध लौराको सहारामा घुँडासम्मको पानी छिचोल्दै घरतर्फ जाँदै थिए । पहिलो नजरमा लाग्यो, उहाँ किन यस्तो जोखिमपूर्ण बाटो हिँडिरहनुभएको होला ? केही स्थानीयसँग बुझ्दा थाहा भयो—त्यो पानी नै उहाँको घर पुग्ने एकमात्र बाटो रहेछ ।

पूर्व–पश्चिम राजमार्गको मुर्गियाबाट करिब ५०० मिटर भित्र रहेको सुनगाभा टोलको राधाकृष्ण पथमा अहिले करिब १५–१६ घरधुरी वर्षायाम सुरु नहुँदै डुबानको समस्याबाट पिडित छन् । सामान्य वर्षा हुँदा नै सडक जलमग्न हुने र घरभित्र समेत पानी पस्न थालेपछि स्थानीयको दैनिकी नै कष्टकर बनेको छ ।May be an image of lumberyard

स्थानीयका अनुसार बालबालिकालाई विद्यालय पुर्‍याउन र ल्याउन घरमा एक जना अभिभावक अनिवार्य बस्नुपर्ने अवस्था छ । घरमा कोही भए पनि गेट वा ढोका बन्द गरेर बस्नु पर्ने अवस्था छ । किनकि पानीको सतह बढी छ बालबच्चा पानीमा खेल्न निस्किए डुव्न सक्ने खतरा रहेको छ । पानीको सतह वढेमा घरभित्र क्षति हुने जोखिम सधैं रहन्छ ।

स्थानीयले पटक–पटक वडा कार्यालय र नगरपालिकामा जानकारी गराए । जनप्रतिनिधिलाई भेटे, समस्या सुनाए । तर समाधानको कुनै ठोस पहल नभएपछि अन्ततः उनीहरूले सञ्चारकर्मीलाई गुहार्न बाध्य भए ।

यसै सन्दर्भमा सैनामैना प्रेस क्लबका उपाध्यक्ष टिका खरेल, सचिव विमल गैरे र सदस्य प्रदीप ज्ञवालीसहितको टोली स्थलगत अनुगमनका लागि उक्त क्षेत्रमा पुगेको थियो । टोली पुगेपछि स्थानीयले केही राहतको अनुभूति व्यक्त गरे ।

एक स्थानीय महिलाले भावुक हुँदै भनिन्, वडा अध्यक्ष र नगरपालिकाका प्रतिनिधिहरू आउनुभएन । तपाईँहरू आउनुभयो, अब हाम्रो कुरा सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनुहोस् ।

स्थलगत निरीक्षणका क्रममा स्थानीयले पानी जमेको बाटो देखाए । दुर्गन्धयुक्त र फोहोर मिसिएको पानीका कारण टोली स्वयं पनि त्यही बाटो भएर हिँड्न सकेन । तर दृश्यले समस्या कति गम्भीर छ भन्ने स्पष्ट देखाइरहेको थियो ।May be an image of water hyacinth and grass

वि.सं. २०७० सालमा पाल्पाबाट बसाइँ सरेर आएका चेतनारायण पाण्डे निराश देखिन्थे । उनले गुनासो गर्दै भने, हाम्रो कुरा कसले सुन्छ र ? वडामा बजेट छैन भन्नुहुन्छ । नगरपालिका भनेको बाटापारि मात्रै रहेछ । नयाँ सरकार आयो, तर हामीसम्म कहिल्यै आइपुगेन । हामीले भोट हालेर जितायौं, तर जनप्रतिनिधि जनताको दुःखमा देखिँदैनन् ।

अर्का स्थानीय ढालेन्द्र केसीको अनुभव पनि उस्तै पीडादायी छ । उनी २०७३ सालदेखि त्यही क्षेत्रमा बसोबास गर्दै आएका छन् । हामी यहाँ सुनगाभा विद्यालय नजिक भएकाले बसाइँ सरेका हौं । यसअघि कहिल्यै यस्तो डुबान भएको थिएन । अहिले घरभित्रै पानी पस्न थालेको छ । अझै ठूलो वर्षा भएको छैन । लगातार दुई–चार दिन पानी परे हाम्रो घर नै डुब्ने अवस्था आउँछ । केसीका अनुसार सुनगाभा विद्यालय जाने सडकमा नाली निर्माण भएपछि पानीको निकास अवरुद्ध भएको र त्यसपछि समस्या झन् बढेको हो । आफूहरूले पटक–पटक सम्बन्धित निकायमा जानकारी गराए पनि कसैले गम्भीरतापूर्वक नलिएको उनको आरोप छ ।No photo description available.

२०७८ सालमा गुल्मीबाट बसाइँ सरेर आएका किशन दगामीको पीडा पनि फरक छैन । यदि यहाँ यस्तो डुबान हुने थाहा भएको भए हामीले जग्गा किन्ने नै थिएनौं । अब जे भए पनि यसको समाधान स्थानीय सरकारले गर्नुपर्छ । जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो ।

स्थलगत अवलोकन गर्दा डुबानको समस्या सामान्य देखिँदैन । सडकभरि जमेको पानी, घरको आँगनसम्म पुगेको डुबान, जोखिमपूर्ण आवतजावत र स्थानीयको त्रास—यी सबैले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् ।
प्रश्न उठ्छ—नागरिक वर्षायाम सुरु नहुँदै डुबानमा परिरहेका बेला स्थानीय सरकार किन मौन छ ?

सामान्यतया नागरिकले सबैभन्दा पहिले आफ्ना समस्या वडा कार्यालयमा राख्छन् । त्यसपछि नगरपालिका पुग्छन् । त्योभन्दा माथिका तहसम्म अधिकांश नागरिकको पहुँच सहज हुँदैन । त्यसैले समस्या पहिचान, समन्वय र समाधानको पहिलो जिम्मेवारी वडा तथा नगरपालिकाकै हो । यदि स्थानीय तहको स्रोतले समाधान सम्भव छैन भने प्रदेश र संघीय सरकारसँग समन्वय गर्नु पनि निर्वाचित जनप्रतिनिधिकै दायित्व हो ।

यस विषयमा सुनगाभा टोल विकास संस्थाका अध्यक्ष प्रदीप गौतमसँग पनि छलफल गरिएको थियो । उहाँका अनुसार वडा अध्यक्ष तमबहादुर पुर्जा दुई–तीन पटक स्थलगत निरीक्षणमा आउनुभएको छ । नगरपालिकालाई पनि जानकारी गराइएको छ ।
गौतमले भने, पूर्वाधार विकास शाखाका प्रमुख सुरज न्यौपाने आउनुहुन्छ, स्थलगत अध्ययन गरेर लागत अनुमान तयार हुन्छ भन्ने जानकारी पाएका थियौं । तर अहिलेसम्म उहाँ आउनुभएको छैन । अब सोमबार हामी आधिकारिक पत्रसहित नगरपालिकामा जाने तयारीमा छौं ।No photo description available.

करिब दुई घण्टासम्म स्थानीयसँग छलफलपछि तत्कालका लागि पानीको निकास खुलाउन नालीको केही भाग व्यवस्थापन गरी पानी बगाउने अस्थायी उपाय अपनाउन सुझाव दिइएको छ । तर यो स्थायी समाधान होइन ।
स्थलगत अवलोकनबाट स्पष्ट देखिन्छ—यो क्षेत्रलाई दीर्घकालीन रूपमा डुबानमुक्त बनाउन वैज्ञानिक ढंगले सडक तथा ढल निकास प्रणाली पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ । समयमै पहल नभए आगामी दिनमा ठूलो वर्षासँगै घर, सम्पत्ति र मानव सुरक्षामै जोखिम बढ्न सक्छ ।

स्थानीय सरकारले नागरिकको जीउधनको सुरक्षा आफ्नो पहिलो प्राथमिकता बनाउनुपर्छ । जनताको पीडा चुनावी भाषणमा मात्र होइन, व्यवहारमा पनि सम्बोधन हुनुपर्छ । अहिले सुनगाभा टोलका स्थानीयले मागेको कुरा कुनै विलासिता होइन—सुरक्षित हिँड्ने बाटो र डुबानमुक्त जीवन हो ।
अब हेर्न बाँकी छ, सम्बन्धित निकायले यो पीडालाई केवल गुनासोको रूपमा लिन्छन् कि तत्काल समाधानतर्फ ठोस कदम चाल्छन् ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation