
सैनामैना। कोरा साइकल अभियान तथा अन्य सामाजिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच आइतबार सहकार्य सम्झौता भएको छ।
एक कार्यक्रमबीच सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सम्झौतापत्रमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार दुवै संस्थाले आगामी दिनमा सामाजिक, वातावरणीय, जनचेतनामूलक तथा सामुदायिक गतिविधिहरू संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साइकल साथी सैनामैनाले साउन १ र २ गते आयोजना गर्न लागेको कोरा साइकल–२०८३ कार्यक्रमलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको जनाएको छ। साउन १ गते कोरा साइकल रेसका साथै सैनामैना–२ स्थित हिलपार्कमा डस्टबिन स्थापना गरिनेछ। साउन २ गते हुने मुख्य कोरा साइकल अभियानका लागि सहभागीहरूको नाम दर्ता खुला गरिएको आयोजकले जनाएको छ।
कोरा साइकल यात्रा सैनामैना–४ मुर्गियास्थित लुम्बिनी गेटबाट सुरु भई सैनामैना रिङरोड परिक्रमा गर्दै करिब ५५ किलोमिटर दूरी तय गर्नेछ। यात्रा दुर्गा मन्दिर, मुर्गियामा पुगेर समापन हुनेछ। समापन कार्यक्रममा सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले विगतदेखि नै सैनामैनाको पहिचान प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि ती गतिविधि आम नागरिकसम्म पर्याप्त रूपमा पुग्न नसकेको बताउनुभयो। अब सैनामैना प्रेस क्लबसँगको सहकार्यपछि सैनामैनालाई देशभर फरक पहिचानका साथ स्थापित गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
त्यस्तै सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपानेले समाचार सम्प्रेषणमा मात्र सीमित नरही सामाजिक तथा जनहितका अभियानहरूमा पनि साइकल साथीसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।
कार्यक्रम साइकल साथी सैनामैनाका सचिव भुवन रावलको सञ्चालनमा सम्पन्न भएको थियो।












