शितगंगामा गहना लुट्ने उदेश्यले एक महिलाको हत्या भएको खुलासा

अर्घाखाँची । अर्घाखाँचीको सिद्धारामा आइतवार भएको घटनाको रहस्य सुनका गहना लुट्ने मनसायले ६० बर्षिय एक महिलाको हत्या भएको खुलासा भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धारा बहखोर स्थित होटल व्यवसाय गर्दै आएकी ६० बर्षिय राधा थापाको सुनका गहना लुट्ने मनसायले हत्या भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरि सोमवार दिउँसो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक भारतिय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारतको गुँडगाउँ हरियाणा घर भई हाल अर्घाखाँची शितगंगा नगरपालिका वडा नंम्बर १० स्थित बोहखोर बस्ने एक महिलासँग विवाह गरि बसेका २३ बर्षिय सुशान्त सिंहलाई पक्राउ गरेको हो । यस अघि अभियुक्त सिंहले राधा थापा दैनिक दूध लिन गाउँ जाने गरेको आफुले देखेको र त्यस दिन कपिलवस्तु बाट योजना बनाई सिद्धारा आएर एक रात ससुराली नजिक खालि घरमा रात बिताएको भोलिपल्टको बिहान करिव ९ बजे बाटो नजिकै झाडी खोल्सामा ढुकेर बसेका सिंहले दूध लिन हिडेकी थापाको पछाडि बाट ढुंगा र हसिया प्रहार गरि मारेर खोल्सामा फालेको अभियुक्त सिंहले प्रहरीसामु बयान दिएर आफुलेनै हत्या गरेको स्विकार गरेका छन् । हत्या गरि सुनका गरगहना लिएर भारत छिर्ने दाउमा भाग्दै गरेका शुसान्तलाई शितगंगा ११ को मुन्द्रीबास स्थित जङगलमा छुकीछिपी बसेको अवस्थामा घटना भएको करिव साढे पाँच घण्टापछी हिजो दिउँसो करिव साढे दुई बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।

जङगलमा भेटीएका शुसान्तले लगाएको कपडा र शरिरमा रगत लट्पट्टिएको देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा थापाको हत्या आफुलेनै गरेको खुलेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation