केन्याविरुद्ध नेपालको क्लिन स्विप

काठमाण्डौं । केन्याविरूद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिज नेपालले ‘क्लिनस्विप’ गरेको छ। लगातार तेस्रो खेल जित्ने क्रममा नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले पराजित गर्‍यो। नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४७.१ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहित कुमार पौडेलले नटआउट ४६ रन र बसिर अहमेदले नटआउट ५२ रन जोडे। त्यसअघि ओपनर अर्जुन साउदले ५८ रन र आसिफ शेखले ५६ रनको योगदान दिएका थिए। ज्ञानेन्द्र मल्लले ३३ रन जोडे। देव खनाल भने १ रनमै आउट भएका थिए।

बलिङमा केन्याका विराज पटेलले २ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।

लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २÷२ विकेट हात पारे। नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको थियो।

अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २÷० को अग्रता लिएर सिरिज जितेको थियो। तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरे। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि रोहितले नेपालको नेत‌ृत्व गरेका हुन्।

एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी–२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation