पत्रकार सरोजराज अधिकारी मृत फेला

काठमाडौँ । पत्रकार तथा लेखक सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् । अधिकारी बुधबार अपराह्न सुन्धाराको एक होटलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले अधिकारी होटलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको बताए ।अधिकारी सोमबार पौने १० बजेतिर घरबाट निस्किएका थिए । त्यसपछि परिवारका सदस्यसँग सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बुधबार परिसरमा निवेदन परेको थियो । प्रहरीले उनको मोबाइल सीमकार्डको लोकेसन ट्र्याक गर्ने क्रममा सुन्धारा क्षेत्रमा देखिएपछि प्रहरी र परिवारका सदस्य खोजीमा जुटे ।

होटल–होटल पुगेर खोजतलास गर्दा उनी बसेको होटलको कोठामा भित्रबाट चुकुल लगाएको भेटिएपछि परिवारका सदस्यले फोडेर प्रवेश गर्दा अधिकारी मृत फेला परेका थिए । परिसर प्रमुख बोहराले अधिकारीको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । विगतमा कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, नयाँ पत्रिका दैनिक, नेपाल लाइभलगायत सञ्चारमाध्यममा आबद्ध अधिकारी पछिल्लो समय आफ्नै मिडिया खोलेर सक्रिय थिए । उनका जासुसीको जालो, चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोजी र रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation