सगरमाथा कप टी-ट्वान्टी क्रिकेटमा प्रदेश-१ ले पुलिसलाई हरायो

काठमाडौं । आयोजक प्रदेश -१ ले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश-१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको हो ।

मैदान ओसिलो भएका कारण ९ ओभरमा छोट्याईएको खेलमा नेपाल पुलिसले दिएको ६७ रनको लक्ष्य प्रदेश-१ ले ८।३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

प्रदेश – १ को जितमा अंकित सुवेदीले १४ बलमा २६ तथा कप्तान सिद्धान्त लोहनीले १८ बलमा अविजित २५ रन बनाए । निरज मुखियाले ७ रन जोड्दा श्रवन यादवले अविजित ४ रनको योगदान गरे ।

पुलिसका लागि राशिद खान र योगेन्द्र सिंह कार्कीले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ९ ओभरमा ६ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

पुलिसका लागि दिलिप नाथले १४ तथा रशिद खानले अविजित १४ रन बनाए । कप्तान अमित श्रेष्ठले ११ रन जोड्दा सुनिल धमलाले ८ रन जोडे ।

प्रदेश-१ का लागि फ्रिदोश अन्सारी र सोनु मण्डलले समान २र२ तथा कमल खत्रीले १ विकेट लिए । ६ टोली सहभागी यस प्रतियोगितामा प्रदेश १ शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनल मंसिर १७ गते हुनेछ । प्रदेश-१ ले पुलिसलाई हरायो

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation