सैनामैनामा माइनुट तथा प्रस्तावना लेखन तालिम सुरु

सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम सैनामैनामा सुरु भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेन्टमेन्ट प्रा.लिको आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय माइनुट तथा प्रस्तावना लेखन तालिम शनिबारदेखि सुरु भएको हो ।

सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको अध्यक्षता सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यतामा सैनामैना-२ निवासी विपन्न परिवारका नविन भट्टराईको परिवारको स्वास्थ्य विमा गरेर ४ दिने तालीमको समउद्घाटन गरिएको हो ।

तालिमको उद्धघाटन सत्रमा बोल्दै सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगर भित्र रहेका आमा समूहहरुलाई संस्थागत रुपमा बलियो बनाउन तालिम फलदायी हुने बताउनुभयो । संस्थालाई व्यवस्थित, कानुनी र आर्थिक रुपमा पारदर्शी बनाउने जिम्मेवारी बढी अध्यक्ष र पदाधिकारीको रहेकोले तालिम उपयोगी हुने विश्वास गर्नुभयो । उहाँले महिलाहरुले संचालन गरेका संस्थाहरु बढी पारदर्शी, सुशासन र नेतृत्वदायि भुमिकामा महिलाहरु जिम्मेवारीपूर्ण र इमानदारीपूर्वक काम सप्पन्न गर्ने हुनाले यो सिकाइले समग्र सैनामैनाको विकासमा पनि टेवा पुग्ने भएकाले भोलिको दिनमा थप प्रभावकारी कार्य गर्न सक्षम हुने गरि तालिमको सदुपयोग गर्न उहाँले सहभागिलाई आग्रह गर्नुभएको थियो ।

सैनामैना नगर उपप्रमुख विना रानाले महिलाहरुको क्षमता विकास, सिप मुलक तालिम, महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत रहेर हरेक बर्ष विभिन्न काम गर्दै आएको बताउनुभयो ।
सोहि अनुसार नगर भित्र रहेका आमा समूह र संस्थाहरुमा आबद्ध महिला दिदिबहिनीहरुलाई नेतृत्वदायि क्षमता विकास गर्न, समुह बैठकमा गर्ने मिटिङ्ग निर्णाय, एजेन्डा माथी छलफल, योजना माग कसरी गर्ने, प्रस्तावना कसरी लेख्ने, संस्था कसरी संचालन गर्ने विषयमा जानकार बनाउन यो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो नगर भित्र रहेका आमा समूह र संस्थाहरुमा नेतृत्व गर्ने महिला दिदिबहिनीहरु सक्षम बन्दा विकासका काम थप प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने भएकाले यसै कुरालाई आवश्यक ठानी तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले विभिन्न संघसंस्था, आमासमुहमा आबद्ध सहभागिलाई माइन्यूट (निर्णाय लेखन) बैठक व्यवस्थापन र प्रस्तावना लेखनका बारेमा जानकारी दिदै क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले आयोजना गरिएको तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । बैठक र माइन्यूट लेखन हेर्दा सामान्य भएपनि बैठक ब्यवस्थापन र माइन्युट लेखन र एजेन्डामाथि छलफल, भाषामा शुद्धता लगायत विषयमा देखिएको समस्या समाधानका लागि तालिम उपलब्धिमुलक हुने बताउनुभयो । उहाँले सहभागिहरुलाई बैठक ब्यवस्थापन र माइन्यूट र प्रस्तावना लेखनको उचित ज्ञान प्राप्त हुने हुँदा नेतृत्व तथा व्यक्तित्व विकास र संस्थागत विकासमा तालिमले सहयोग गर्ने बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरु सहभागी बढी रहेकाले जुन संस्थामा आर्थिक पारदर्शी हुन्छ त्यो संस्था चलायमान र विश्वासिलो संस्थाको रुपमा परिचित हुने भएकोले तालिमबाट प्राप्त गरेको ज्ञानलाई कार्य क्षेत्रमा लागु गर्न ज्ञवालीले आग्रह गर्नुभयो ।

आर्थिक रुपमा पारदर्शी बनाउन र हिसाव किताब चुस्त दुरुस्त राख्न बैठक संचालन गर्न तालिम प्रभावकारी हुने बताउदै सिकेका कुरालाई व्यवहारमा लागु गर्न रेडियो सैनामैनाका अध्यक्ष कमला न्यौपानेले अनुरोध गर्नुभयो ।
सैनामैना-२ मा अवस्थित बाबरी होटलमा संचालन भएको तालिममा नगर भित्र रहेका आमा समूहका अध्यक्ष तथा पदाधिकारी गरि ७० जनाको सहभागिता रहेको थियो । तालिममा माइन्यूट (बैठकको निर्णय) लेखन तालिममा पत्रकार सन्जु पौडेलले सहजीकरण गर्नु भएको थियो ।
रेडियो मलमला स्टेशन म्यानेजर टिका खरेलको स्वागत तथा क्रिश मल्टिमिडिया ईन्टरटेन्टमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक कृष्ण भण्डारीको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation