
सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ।
आगामी वैशाख २९ र ३० गते सञ्चालन हुने कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले आफैं सांसदको भूमिकामा रहेर बहस, छलफल र निर्णय प्रक्रियामा भाग लिन पाउनेछन्। कार्यक्रमको स्थान मिलन चोक आसपास रहने जनाइएको छ भने विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने सस्थाका अध्यक्ष शंकर भुसालले जानकारी दिए। कार्यक्रम विशेष गरी रूपन्देही जिल्लाभित्र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको छ। परीक्षा पश्चात खाली समयलाई सिकाइ, नेतृत्व विकास र व्यक्तित्व निर्माणमा उपयोग गर्ने उद्देश्यले यस्तो अभ्यास कार्यक्रम ल्याइएको भुसालको भनाइ छ।
यस कार्यक्रमबाट विद्यार्थीहरूले सार्वजनिक रूपमा बोल्ने कला, आत्मविश्वास, टोलीमा काम गर्ने क्षमता र निर्णय लिने सीप विकास गर्न सक्ने अपेक्षा गरिएको छ। साथै, राजनीति, कानुन र राज्य सञ्चालन प्रक्रियाबारे व्यवहारिक ज्ञान सहज तरिकाले प्राप्त हुने बताइएको छ।
सहभागिता पूर्ण रूपमा निःशुल्क रहने कार्यक्रमका लागि सिट सीमित रहेकोले इच्छुक विद्यार्थीलाई छिटो सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ। नयाँ साथीहरू बनाउने, नेटवर्क विस्तार गर्ने र नेतृत्व क्षमता निखार्ने यो अवसरलाई अधिकतम उपयोग गर्न आयोजकले सबैलाई आह्वान गरेको छ।
परीक्षा सकिएपछि अब के गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी विकल्प बन्न सक्ने देखिएको छ।












