पर्रोहा धाममा श्रावणी बोलबम मेलाको तयारी पूरा, साउन १३ देखि जलार्पण यात्रा

सैनामैना । पश्चिम नेपालको पशुपतिनाथका रूपमा परिचित स्वयम्भू उत्पत्तिमान श्री पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबम धाम, सैनामैना–१ मा आगामी श्रावण १३ गतेदेखि एक महिने बोलबम जलार्पण तथा श्रावणी मेला सुरु हुने भएको छ।

आइबार धामको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत बोलबम यात्रा तथा श्रावणी मेलाको तयारीबारे विस्तृत जानकारी दिइएको हो। धाम व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि महिनाभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित बोलबम जलार्पण यात्रा सञ्चालन गरिनेछ।

यस वर्षको बोलबम यात्राको औपचारिक शुभारम्भ गुरुपूर्णिमाको पावन अवसर पारेर श्रावण १३ गते कपिलवस्तुको ऐतिहासिक लक्ष्मणघाट धामबाट गरिनेछ। एक महिनासम्म सञ्चालन हुने यात्रामा भक्तजनहरूले पैदल तथा सवारी साधनमार्फत विभिन्न पवित्र तीर्थस्थलबाट जल ल्याई पर्रोहा धामस्थित शिवज्योतिर्लिङ्गमा जलार्पण गर्नेछन्।

धाम समितिका अनुसार यात्राका क्रममा गैडहवाको सूर्यपुरा सन्तघाट, त्रिवेणीधाम, रुरुधाम (रिडी), देवघाट, सैनामैनाको कालीदह, रानीकुँवा तथा महेरवा माई लगायतका प्रमुख धार्मिक स्थलहरूबाट जल संकलन गरी बोलबम यात्रा सञ्चालन गरिनेछ।

श्रावणी मेलाभर धाम परिसरमा धार्मिक वातावरणलाई थप सुदृढ बनाउन दैनिक विशेष पूजा, शिवपाठ पारायण, शिवमहापुराण तथा कथा वाचन, रुद्राभिषेक, लघुरुद्री तथा प्रत्येक साँझ आकर्षक श्रृंगारिक महाआरती आयोजना गरिने जनाइएको छ।

यस वर्षको मेलामा नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत करिब दुई लाख भक्तजन सहभागी भई शिवज्योतिर्लिङ्गमा जलार्पण गर्ने अनुमान गरिएको छ। मेलाबाट करिब रु। २० लाख बराबरको आम्दानी हुने अपेक्षा गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो।

मेलालाई सुरक्षित, व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न विभिन्न विषयगत समिति तथा उपसमितिहरू गठन गरी तयारीलाई तीव्रता दिइएको धामका सचिव गोपाल आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार शान्ति–सुरक्षा, स्वास्थ्य शिविर, खानेपानी, सरसफाइ तथा सवारी व्यवस्थापनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवकहरू परिचालन गरिनेछ।

पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबम धाममा हरेक वर्ष आयोजना हुने श्रावणी मेला पश्चिम नेपालकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। यस वर्ष पनि ठूलो संख्यामा भक्तजनको सहभागितासँगै धार्मिक पर्यटन प्रवर्द्धनमा मेलाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation