आज गौरा पर्व मनाइँदै

काठमाण्डौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ।

कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ।

सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation