माल्दिभ्सलाई ९–० ले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । साविक विजेता भारत छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९–० गोल अन्तरले हराउँदै भारतले अन्तिम चारको यात्रा तय गरेको हो ।

भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरिन् ।

खेलको २४ औं मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

४२ औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन् ।

पहिलो हाफको इन्जुरी समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाईन् ।

खेलको ५३ औं मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४–० को अग्रता बनायो ।

खेलको ५५ औं मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाईन् ।

खेलको ८४ औं मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६–० को बन्यो ।

८५ औं मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारत ७–० ले अघि रह्यो ।

खेलको ८७ औं मिनेटमा ग्रेसले व्यक्तिगत गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८८ औं मिनेटमा अन्जुले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ९० को जित दिलाईन् ।

भारतको यो लगातार दोस्रो जित हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो ।

जितसँगै समूह ए को भारतले २ खेलमा ६ अंक जोडेको छ । भारत शीर्ष स्थानमा उक्लिएको छ ।

भारतको जितसँगै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ ।

अब समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन् । त्यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगाबै बाहिरिएका छन् । दुबै टोली अंक विहीन रहेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation