यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालको हार

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले भुटानसँग २–० गोलको हार व्यहोरेको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।

खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा एक एक गोल गर्यो ।

खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानलाई २–० को जित दिलाए ।

खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

छनोटको समूह ुबीु मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।

नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation