टी–२० विश्वकपमा अष्ट्रेलियाको दोस्रो जित

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले टी–२० विश्वकपमा दोस्रो जित निकालेको छ । सुपर १२ अन्तर्गत समूह ए को खेलमा अष्ट्रेलियाले सोमबार आयरल्याण्डलाई ४२ रनले पराजित गरेको हो ।

जितपछि चार खेलबाट ५ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समान ५ अंक नै रहेको न्युजिल्याण्ड राम्रो रनरेटसहित शीर्ष स्थानमा छ ।

ब्रिसबनमा अष्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।

अष्ट्रेलियाको बलियो बलिङ आक्रमणसामू आयरल्याण्ड सुरुमै धर्मराएको थियो । आयरल्याण्डले २५ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका विकेटकिपर लोर्कान टकरले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation