
काठमाडौँ । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा जित हात पारेको छ । शनिबार हङकङ क्रिकेट क्लबमा नेपालले जापानलाई ६७ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
११४ रनको विजयी लक्ष्य पछ्याएको जापाान २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटिएको हो । जापानका लागि मेग ओगावाले १७ र सेइका सुमीले १३ रन बनाए । जापानका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
इनिङ्सको पहिलो बलमै विकेट गुमाएको जापानले ११ ओभरभित्र ७ विकेट नेपालले लिएको थियो। ६/२, ६/३, १०/४, हुँदै जापान १०.३ ओभरमा २०/७ को अवस्थामा पुगेको थियो । नेपालका लागि संगीता राईले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिइन् । ४ ओभरमा उनले मात्र ६ रन खर्चिइन् । त्यस्तै पूजा महतो र अस्मिना कर्माचार्यले २/२ विकेट लिइन् ।