विश्वकप क्रिकेटको उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं ।
भारतमा जारी विश्वकपको फाइनलमा भोलि भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने रहको छ ।

प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ । सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकपमा उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन । २०१५ उपाधि जितेको अस्ट्रेलियाको पनि त्यसयता यो पहिलो फाइनल हो ।

साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन् । भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर ।

दुई टोलीको फाइनल यात्रा

अस्ट्रेलियाले अहिलेसम्म सात फाइनल खेलेको छ । जसमा पाँच पटक उपाधि जित्न सफल भयो भने दुई पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो । सबैभन्दा बढी फाइनल खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने टोली पनि अस्ट्रेलिया नै हो ।

त्यस्तै, तीन पटक फाइनल खेलेको भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो । २००३ मा भारतले फाइनलमा १२५ रनको लज्जास्पद हार व्यहोरेको थियो । घरेलु टोलीको स्लोगन ‘तीनका ड्रिम’ पूरा गरेर पुरानो बदला चुक्ता हुने आशामा घरेलु टोलीका समर्थक आशावादी छन् ।

यस्तो अवस्थामा छन् दुई टोली

भारतले जारी विश्वकपमा सबै खेल जितेर फाइनलमा पुगेको हो । भारतीय खेलाडीहरु उच्च फर्म रहेका छन् । भारतले समूह चरणका नौ खेल जित्दै सेमिफाइन यात्रा तय गरेको थियो । सेमिफाइनलमा पनि भारतले आफ्नो उच्च लय जारी राख्दा न्यूजिल्याण्डलाई सहजै पराजित गरेको थियो ।

समूह चरणको दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार व्यहोरको अस्ट्रेलियाले त्यस यताका आठ खेलमा लगातार जित निकालेर फाइनलमा पुगेको हो । समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लियो । समूह चरणको पहिलो खेलमा भारतसँगको ६ विकेट हारको बदला लिन अस्ट्रेलियाको लागि फाइनलमा अवसर हुनेछ ।

हेड टू हेड

समग्रमा अस्ट्रेलियासँग भारतको भेट सुखद छैन । १५० वटा भेटमा भारतले अस्ट्रेलियासँग ८३ खेलमा हार व्यहारेको छ । यो भन्दाअघि यी दुई टोलीको विश्वकपमा १३ पटक भेट भएको छ । ती भेटमा भारत आठ पटक पराजित भएको छ भने अस्ट्रेलिया पाँच पटक पराजित भएको छ । तर यस वर्ष भएको सात खेल मध्ये चार खेल भारतले जितेको छ ।

फाइनलमा मौसम बाधक बन्छ ?

कात्तिक दोस्रो सातासम्म भारतमा वायु प्रदूषणका कारण विश्वकपको खेल प्रभावित हुनसक्ने अनुमान गरिएको थियो । दिपावलीका कारण पटकाको धुवाले बढेर झन् प्रदूषण बढ्ने भन्दै भारतमा सावधानीसमेत अपनाइएको थियो । आइतबार अहमदवादको मौसम अधिकतम ३२ डिग्री सेल्सियस र मौसम सफा रहने भारत मौसम विभागको पूर्वानुमान छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation