
सैनामैना । परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सैनामैना नगरपालिकामा नेवारी समुदायले जनैपूर्णिमाका दिन लाखे नाच कार्यक्रमको आयोजना गरेको छ । श्री नेवाःपूच पर्रोहा, सैनामैनाद्वारा आयोजित यस कार्यक्रममा नेवारी बाजागाजा र सांस्कृतिक झाँकी सहित लाखे नाच प्रस्तुत गरिएको थियो ।
सैनामैना–४ स्थित लुम्बिनी गेट अगाडि भएको कार्यक्रममा स्थानीय वासीको बाक्लो उपस्थिति रहेको थियो । संस्थाले हरेक वर्ष जनैपूर्णिमाको अवसरमा यसरी नै लाखे नाच प्रस्तुत गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि दर्शकहरूलाई सांस्कृतिक अनुभव प्रदान गरेको छ ।
सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले लाखे नाचजस्ता सांस्कृतिक कार्यक्रमले संस्कृतिको संरक्षण र भावी पुस्तालाई हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेवारी समुदायको परम्परा र संस्कृतिलाई जीवन्त राख्न कार्यक्रमले सहयोग पुर्याएको र यस्ता कार्यक्रमले इतिहास र परम्परालाई भावी पुस्तासम्म पुर्याउने पुलको काम गर्ने बताउनुभयो ।
सैनामैना–४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले पुरानो सांस्कृतिक लाखे नाच कार्यक्रमले समुदायमा एकता बढाउने र नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानबारे जान्न प्रेरणादिने बताउनुभयो ।
युवा पुस्तालाई आफ्नो मौलिककला र संस्कृति प्रति आकर्षित गर्ने र यसको संरक्षणमा टेवापुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्री नेवाःपूचका अध्यक्ष देवी प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम बाबुराम श्रेष्ठको स्वागत तथा लक्ष्मी श्रेष्ठ र खिम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।