बिजयनगरमा १ हजारजनाको निःशुल्क आँखा उपचार

उपकार अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाका निःशुल्क आँखा उपचार गरेको छ । बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए।

१४३ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन गरिएको छ भने २०१ जनालाई चस्मा वितरण गरिएको अधिकारीले बताए। गाउँपालिकाको विकट क्षेत्र जवावैराठ, नेवलीगंज, नौडिहवा, मद्यनगर, गेडुवाजोत लगायत गाउँका बासिन्दाले सेवा लिएका छन्।

ग्रामीण भेगमा जनतालाई उपचारको दायरामा ल्याउन शिविर शुरु गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए। विपन्न समुदायलाई स्वास्थ्य परीक्षण गराउन आर्थिक समस्या पर्ने भएकाले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको थापाले बताए।

आँखा उपचार शिविर २ दिनसम्म रहे पनि बिरामी बढेकाले एक दिन थपिएको छ। शिविर विजयनगर गाउँपालिका–६ स्थित हरिबोध आधारभूत विद्यालयमा सञ्चालन गरिएको हो। छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक टोलीले जाँच गरेको हो।

सामान्य प्रकारका विरामीको शिविरबाट उपचार हुने र अप्रेशन गर्नुपर्ने विरामीको पनि गाउँपालिकाको सहयोगमा अप्रेशन गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए। जिल्लाका सबै पालिकामा आँखाका विरामी फेला परेकाले पालिकासँग सहकार्य गरेर शिविर आयोजना गरिने विश्वकर्माले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation