प्रिमियर कप : नेपालको विजयी सुरूवात, मलेसिया ६ विकेटले पराजित

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको २ सय ३६ रनको चुनौती नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।   नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाउँदा कुशल मल्ल ७० रनमा नटआउट रहे।

कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेख एक रनमा आउट भएका थिए। दीपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे भने विरन्दिप सिंहले ४६ रन जोडे। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३/३ विकेट लिए भने ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट खसाले।

प्रतियोगितामा सहभागी  १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् ।

समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ। उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation