केन्यासँगको पहिलो टी–२० मा नेपालको विजयी

काठमाडौं । केन्या विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो ।

यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १–० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए । दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए ।

१३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन । नियमित ओपनर कुशल भुर्तेललाई ड्रप गरेपछि नेपालले आसिफ शेखसँगै पवन सर्राफलाई ओपनिङ गराएको थियो । दुई वर्ष भन्दा बढी समयपछि टी२० अन्तर्राष्ट्रिय खेल्दै ओपनिङ गरेका पवन व्यक्तिगत १ रनमै आउट भए ।

यस्तै ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९(१९ रन जोडे ।

उपकप्तान रोहित पौडेलले १५ रन बनाए । आरिफ शेखले अविजित २१ रन बनाए । आदिल आलम २ रन अविजित रहे । केन्याका लुकास ओलुच र भिराज पटेलले २–२ विकेट लिए ।

नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए ।

लुकास नान्डासन ३० रनमा अविजित रहे । बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल आलम र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation