तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा केन्यामाथि नेपालको जित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।

यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

केन्याका भिराज पटेल र युगिनी ओचिङले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।

पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।

कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १–१ विकेट लिए ।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।

यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भोलि सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी(ट्वान्टी मंगलबार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation