नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगलशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । समूहको दुवै खेल जित्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् ।

खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३–० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाईन् । भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाईन् । यस जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५–० गोल अन्तरले हराएको थियो ।

भुटानले २ खेलमा ३ अंक जोड्यो । दुई खेलमा पराजित रहदै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation